आजदेखि राप्रपाको चुनावी प्रक्रिया सुरू, अध्यक्षमा थापा र लिङ्देन प्रतिस्पर्धा गर्दै


काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो एकता महाधिवेशनमा नयाँ नेतृत्वका लागि आजबाट चुनावी प्रक्रिया सुरु हुँदैछ । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले बुधबार भृकुटीमण्डपमा एकता महाधिवेशनको उद्घाटन गरेका थिए ।
उद्घाटन सत्र सकिएलगत्तै भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र सुरु भइसकेको र आज निर्वाचन प्रक्रिया सुरु हुने राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिए । हिजोको बन्दसत्रमा अध्यक्षत्रयको राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदा प्रस्ताव पेस भएको थियो । आज बिहान ८ बजेदेखि पुन सुरू हुने बन्दसत्रबाट दुबै प्रस्ताव पारित गर्ने कार्यतालिका रहेको छ ।
राप्रपाको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना लगभग टरिसकेको भए पनि सहमतिको प्रयास गरिने नेताहरूले बताएका छन् । मञ्चबाटै अग्रज नेताहरूले अध्यक्षमा उम्मेदवारी दिएका कमल थापा र राजेन्द्र लिङ्देनलाई सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिँदै आएका छन् । बुधबारदेखि सुरू एकता महाधिवेशनका अन्तिम वक्ता अध्यक्ष पशुपतिशमसेर राणाले सर्वसम्मत नेतृत्वका लागि दुबै पक्षलाई तयार हुन आग्रह गरेका थिए ।
तर, यदि त्यसो नभए लोकतान्त्रिक विधिबाट नेतृत्व छनोटलाई स्वीकार गर्नुपर्ने राणाको भनाइ थियो । यसको अर्थ सहमतिका लागि हस्तक्षेप गर्ने रणनीति नेताहरूको छैन । राणाबाहेक त्यो समूहका अन्य नेताहरू लिङ्देनको पक्षमा छन् । अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसमेत लिङ्देन पक्षमा लागिसकेका छन् । प्रभाव राम्रो रहेकाले थापा लिङ्देनलाई छोड्ने पक्षमा छैनन् भने लिङ्देनले समर्थन बढ्दै गएपछि आफ्नो पक्षमा माहोल बनाइरहेका छन्।
‘चुनावमा उठेपछि त्यसको परिणाम स्वीकार गर्न दुबै तयार हुनुपर्छ,’ राणाले भने, ‘यो नै राप्रपाको भाग्य र भविष्यका लागि उपयुक्त हुनेछ।’ राणाले चुनावको परिणामबाट पार्टी विभाजनको दिशातर्फ नजाओस् भन्दै भने, ‘राप्रपाको बृहत्तर एकता र जनताको समर्थन प्राप्त गर्न, यो पार्टीलाई बलियो बनोस् भन्ने उद्देश्य राखेरै नेतृत्वमा दाबी छोडेको हुँ । तपाईंहरू सकेसम्म सहमतिबाट सर्वसम्मत नेतृत्व निर्माण गर्नुहोस् ।’ उनले राप्रपाको अध्यक्षमा नभए पनि आफूले सकेसम्म पार्टीको गतिविधिमा संलग्न रहने बताए ।
पूर्वप्रधानमन्त्री तथा पूर्वअध्यक्ष लोकेन्द्रबहादुर चन्दले पनि पार्टीलाई विभाजन हुन नदिने दिशामा नेतृत्व निर्माण गर्नुपर्ने बताए । नेतृत्वमा विस्तारै युवापंत्ति स्थापित हुँदै जाने बताउदै उनले भने ‘अहिले त्याग गर्ने सुरूआती भएको छ, राणाजी, लोहनीजीले त्याग्नुभयो, यो सर्दै जान्छ ।’ उम्मेदवारी घोषणा गरेका थापाले केही अधुरा काम पूरा गर्नुपर्ने भएकाले त्यो जिम्मेवारीका लागि आफूले तयारी गरेको बताए । तर पार्टी विभाजन नगराउन गीता समातेर कसम खाइसकेको उनले सम्झिए ।
राप्रपाको उद्घाटन सत्र सकिएर बन्दसत्र सुरू भएको छ । बन्दसत्रमा तीनै जना अध्यक्षले कार्यपत्र पेश गरेपछि बुधबारको कार्यक्रम सकिने छ । राप्रपामा अध्यक्षको उम्मेदवारी घोषणा भए पनि अन्य पदाधिकारीबारे टुंगो लागेको छैन । अध्यक्षका लागि अन्तिम समयसम्म सहमतिको प्रयास हुने दुबै पक्षका नेताहरूले बताएका छन् । तर, लिङ्देन नेतृत्व त्यस्सै छोड्ने पक्षमा छैनन् ।
उनले आफ्नो मन्तव्यमै राप्रपा पार्टीलाई पुरानो नेतृत्वबाट अगाडि बढाउन नसकिने भएकाले युवापुस्ताको नेतृत्व आवश्यक रहेको बताएका थिए ।






















