देश

आजबाट कांग्रेसको प्रदेश अधिवेशन, सभापति देउवाले सातै प्रदेशमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

जगत ठाडा मगर
२०७८ मंसिर १६ | बिहान ०७:०८ बजे

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आजबाट प्रदेशको अधिवेशन सुरु हुँदैछ । प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले दिउँसो दुई बजे भर्चुअल माध्यमबाट एकैसाथ सातै प्रदेश महाधिवेशन उदघाटन गर्ने छन् । प्रदेश अधिवेशनको उदघाटन आज भए पनि निर्वाचन कार्यतालिका भने शुक्रबारदेखि मात्रै सुरु हुनेछ ।

प्रदेश १ को अधिवेशन विराटनगरमा, प्रदेश २ को जनकपुरमा, वाग्मतीको हेटौँडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुनेछ । यी अधिवेशनले कांग्रेसको पहिलो प्रदेश कार्यसमिति चयन गर्नेछ । प्रदेश अधिवेशनको उदघाटन देउवाले गर्ने र समारोहको अध्यक्षता भने सात प्रदेशमा फरक-फरक नेताहरूले गर्नेछन् ।

कांग्रेसले प्रदेश अधिवेशन गर्नका लागि प्रदेश १ मा कृष्णप्रसाद सिटौला, २ मा रमेश रिजाल, वाग्मतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडूको संयोजक तोकेको छ ।

प्रदेश अधिवेशनमा प्रदेशसभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद मतदाता हुने पार्टी विधानमा व्यवस्था छ । प्रदेशमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री रहने व्यवस्था कांग्रेसको विधानमा उल्लेख छ ।

कमेन्टहरु