देश

कांग्रेसको केन्द्रीय सदस्यमा उमेदवारी दिने प्रकाश रसाइलीको घोषणा

जगत ठाडा मगर
२०७८ मंसिर १५ | मध्यान्ह ०१:०८ बजे

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रकाश रसाइली ‘स्नेही’ले पार्टीको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका छन् ।

बझाङबाट महाधिवेशन प्रतिनिधि बनेका रसाइलीले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । “नेपालमा पिँधमा रहेका समुदायलाई अन्य समुदायसरह नेतृत्वमा पुर्‍याउने र समान हैसियत प्रदान नभएसम्म मुलुकमा स्थायित्वको बहस सधैँ भइरहन्छ,” उनले भने, “सोही मुद्दा स्थापित गर्न म कांग्रेसको नेतृत्वमा पुग्न चाहन्छु ।”

उनले १३औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य पदमा उमेदवारी दिएका थिए । तर, झिनो मतान्तरले पराजय भएका थिए । रसाइली नेपाल विद्यार्थी संघको पूर्वकेन्द्रीय सदस्य र नेपाल दलित संघको पूर्वकेन्द्रीय महासचिव हुन् । हाल उनी पार्टीका समानुपातिक सांसद छन् ।

कमेन्टहरु