Opens in a new tab

देश

म पार्टी अध्यक्ष बन्दा अग्रज ‘दाइ’हरूले अपमानित हुनुपर्दैन : लिङ्देन

जगत ठाडा मगर
२०७८ मंसिर १४ | मध्यान्ह १२:०८ बजे

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनले आफू पार्टीको अध्यक्ष बन्दा पार्टीभित्रका अग्रज ‘दाइ’हरूले अपमानित हुनु नपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको सदस्यसमेत रहेका लिङ्देनले मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देश बलियो हुन राप्रपा बलियो हुनुपर्ने भएकाले नै राप्रपालाई बलियो बनाउन आफूले नेतृत्वमा दाबी गरेको बताए । आफ्नो उम्मेदवारी कसैको विरोधमा नभएर देशको आवश्यकता, पार्टीको आवश्यकता र कार्यकर्ताको भावना अनुसार रहेको उनको भनाइ छ ।

अहिलेकै अवस्थामा पार्टी अघि बढ्ने हो भने कुनै पार्टीको चाँकरी गरेर दुईचार वटा मन्त्री पद खाने पार्टीमात्र हुने उल्लेख गर्दै उनले भने, ‘मेरो सपनाको त्यो पार्टी होइन, अब हामीले आँट नगरी भएन भनेर अघि बढेको हुँ ।’ पार्टीभित्र रहेका अग्रज नेताहरूलाई लक्षित गर्दै उनले भने, ‘तपाईंहरूले उत्पादन गरेको पुस्ता पनि पार्टीको नेतृत्व गर्न योग्य भयो, हामी नेतृत्व गर्न सक्छौँ भनेर अग्रजहरूकै अभिभावकत्वमा तपाईंहरु जिउँदो हुँदै राप्रपालाई नेपालको एक नम्बर पार्टी बनाउन सक्छौँ भनेर आँट गर्‍यौँ ।’

लिङ्देनले पार्टीका अग्रज नेता डा. प्रकाशचन्द्र लोहनीले आफूलाई बोलाएरै आशीर्वाद दिएको भन्दै आभार प्रकट गरे । ‘यो मलाई समर्थन गर्ने, मलाई अध्यक्ष बनाउने भन्ने कुरामात्र होइन । पार्टीलाई बचाउने कि नबचाउने भन्ने कुरा हो । यो पार्टीले बोकेको मुद्दा जोगाउने कुरा हो’ उनले भने ।

कमेन्टहरु