एमाले महाधिवेशन दुई दिन लम्बिदा डेढ करोड खर्च बढ्यो


चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन दुई दिन लम्बिंदा निर्धारित बजेटभन्दा करिब डेढ करोड खर्च बढेको छ । मंसिर १० – १२ गतेसम्म तय गरेको एमालेको महाधिवेशन तोकिएको समयमा नेतृत्व चयनको प्रक्रिया सम्पन्न हुन नसक्दा २ दिन लम्बिएको हो ।
नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले दुई दिन महाधिवेशन लम्बिंदा एक-डेढ करोड खर्च बढेको बताए । उनले भने, ‘यो अलि अप्रत्यासित भयो वास्तवमा । हामीले जति टार्गेट गरेका थियौं निर्वाचन गर्नुपर्नाको कारणले अलि बढी खर्च बढाएको छ । पार्टीको अलि राम्रै रकम खर्च गर्नु परेको छ । मेरो अनुमानमा एक २५ देखि डेढ करोडसम्म बढी खर्च भएको छ ।’ यद्यपि यसको यकिन विवरण पछि प्राप्त हुने उनको भनाइ छ ।
तामाङका अनुसार १० औं महाधिवेशनका लागि ७ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको थियो । ललितपुरको गोदाबरीमा आयोजित विधान महाधिवेशनमा पनि ४ करोड ७१ लाख खर्च भएको जानकारी पनि उनले गराए ।
नेकपा एमालेको केन्द्रीय महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले पनि महाधिवेशन एक दिन मात्रै बढी लम्बिदा थप १ करोड भार पार्टीलाई थपिने बताए । पाण्डेले भने ‘प्रतिनिधिलाई खाना आवासदेखि निर्वाचनको खर्च समेत जोड्दा एक दिनमा एक करोड रुपियाँ थपिने अनुमान छ ।’
महाधिवेशनमा २१ सय ७५ प्रतिनिधि, स्वयमसेवक र अतिथि गरी ३५ सय जनाका लागि होटल बुक गरिएको छ । त्यसमा प्रतिनिधि बसेको होटलले थप तीन छाक खाना खुवाउने सम्झौता गरिएको छ । खाना र बेडको लागि एमालेले होटल व्यवसायीसँग एक करोड ९० लाख रुपैयाँमा सम्झौता गरेको थियो ।
मूल व्यवस्थापन समिति सहसंयोजक पाण्डेका अनुसार सोमबार दिउँसो र बेलुकाको खाना, मंगलबार बिहानको ब्रेकफास्ट र बेडको व्यवस्था गर्ने गरी अर्काे सम्झौता गरिएको छ । थप एक दिन खाना र बेडको लागि करिब ७० लाख रुपैयाँमा सम्झौता भएको छ ।






















