देश

कास्कीमा बस दुर्घटना हुँदा चालकको मृत्यु, आठ जना घाइते

जगत ठाडा मगर
२०७८ मंसिर १४ | बिहान १०:०८ बजे

पोखरा । कास्कीमा मंगलबार बिहान बस दुर्घटना भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा पोखराबाट बागलुङ जाँदै गरेको लु १ ख ७७६६ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा परी बस चालक पाल्पाको चित्रुङधारा घर भएका ४५ वर्षीय भुपेन्द्र खनालको मृत्यु भएको छ । साथै बसमा सवार विभिन्न जिल्लाका अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रबक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

कास्की प्रहरीका अनुसार घाइते हुनेमा बागलुङ नगरपालिका–६, लहरेपीपल बस्ने २९ वर्षीय शिवराम शर्मा, ठूलढुंगा बस्ने ४८ वर्षीय कृष्ण खड्का, बागलुङ–१४, बलेवा बस्ने २५ वर्षीय राजु श्रेष्ठ, उनको बुवा ८५ वर्षीय उमलाल श्रेष्ठ रहेका छन् ।

यस्तै, बागलुङकै आवारोड बस्ने ४२ वर्षीय सुवर्ण सापकोटा, पर्वतको फलेवास नगरपालिका–४ बस्ने ३५ वर्षीय सूर्य तिवारी, चितवनको भरतपुर महानगरपालिका–३, राम्जाली मार्ग बस्ने २३ वर्षीया साधना उपाध्याय घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएकाहरुको पोखरास्थित फिस्टेल अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचारका लागि ल्याइएको छ । बस सडकभन्दा करिब ३० मिटर तल पुगेको छ ।

कमेन्टहरु