नेता पुनको स्वास्थ्यमा प्रारम्भिक सुधार


काठमाडौ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको छ । गत शुक्रबार बैंककबाट थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगेर सोही दिनबाट उपचार सुरु गरिएको थियो ।
उपचार सुरु गरेको चौथो दिनमा नै नेता पुनको स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको नेता पुनकी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीले जानकारी दिइन् । पछिल्लो परीक्षण अनुसार नेता पुनलाई सताएको विश्वमै विरलै देखिने जण्डिस (बिलरुविन) को मात्रा समेत घटेर १८ मा झरेको छ । यस अघि बैंककमा छाँदा बिलरुविनको मात्रा २२ थियो ।
बिलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने वान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निने जस्ता समस्या सुधार भएको छ । उपचारमा सहभागी चिकित्सकले नेता पुन अहिले खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने बताएका नेता पुनको पूर्व स्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य दुर्गा चापागाईँले जानकारी दिइन् ।






















