स्वास्थ्य

माओवादी नेता पुनलाई थप उपचारको लागि चीन लगियो

जगत ठाडा मगर
२०७८ मंसिर १० | बिहान ११:०८ बजे

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनलाई उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको छ । विश्मै विरलै देखिने जटिल प्रकृतिको जण्डिसबाट ग्रसित पुन विगत डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत थिए ।

पूर्वअर्थ तथा ऊर्जामन्त्री समेत रहेका पुनको स्वास्थ्यमा कुनै सुधार नआएपछि थप उपचारका लागि चीन लगिएको उनका पूर्व स्वकीय सचिव तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाँईले जानकारी दिए । नेता पुनसँगै उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेनजेनतर्फ उडेका छन् । उनीहरु आजै मध्यान्ह अस्पताल पुगेर उपचार गरिने चापागाँईले जानकारी दिए ।

समितिभेज अस्पतालमा उपचार गरिरहेका चिकित्सकहरुले उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि चिनको सेनजेन लैजान सुझाव दिएका थिए । काठमाण्डौंबाट बैंकक लैजाँदा जण्डिस (बिलरुविन) को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ । जण्डिससँगै शरिरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लैजानु परेको चापागाईँले बताए ।

बंशाणुगत रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंककतर्फ लागेका थिए । नेपालमा हुँदा ललितपुरस्थित सुमेरु अस्पताल र यसअघि ग्राण्डी अस्पतालमा परिक्षण गराएका नेता पुन चिकित्सकहरूको परामर्श र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सल्लाहमा बैंकक गएका थिए ।

अघिल्लो पटक जण्डिसकै कारण स्वास्थ्य अवस्था निक्कै गम्भीर भएका बेला नेता पुनको सोही अस्पतालमा उपचार भएको थियो । उनी नेपालका ग्राण्डी लगायतका अस्पताल र भारतको एपोलो अस्पतालमा समेत उपचार गराउँदा कुनै सुधार नआएपछि बैंकक गएका थिए ।

कमेन्टहरु