राजनीति

माओवादी केन्द्रले आज ६ हजार ७४३ वडामा सम्मेलन गर्दै

जगत ठाडा मगर
२०७८ मंसिर ४ | बिहान ०७:०८ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज एकै दिन ६ हजार ७४३ वडामा ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित वडा सम्मेलन गर्दैछ । आउँदो पुस ११ – १३ सम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलन अन्तर्गत शनिबार वडा सम्मेलन हुन लागेको हो ।

सर्वसम्मत नेतृत्व चयन गर्न नसके निर्वाचनमा जान पार्टी केन्द्रले निर्देशन दिएको छ । पार्टीले केन्द्र बाहेकमा तीन चरणमा सम्मेलन गर्ने निर्णय गरेको छ । जसअनुसार आजको वडा सम्मेलनपछि यही मंसिर ११ गते पालिका तथा नगर सम्मेलन र २५ गते प्रदेश सम्मेलन हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।

वडादेखि केन्द्रीय तहसम्म निर्वाचन प्रक्रिया पूरा हुँदा पार्टीका तीन लाख कार्यकर्ताले कम्तीमा एउटा पदीय जिम्मेवारी पाउनेछन् भने आठ हजारभन्दा धेरै समिति गठन हुनेछन् । वडादेखि केन्द्रसम्म सर्वसम्मत वा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने योजनाअनुसार बनेको केन्द्रीय निर्वाचन आयोगले ७७ जिल्ला तथा सातवटा प्रदेशमा निर्वाचन समिति बनाएर आफ्नो काम गरिरहेको छ ।

राष्ट्रिय सम्मेलनको तयारी अन्तर्गत माओवादी केन्द्रले पार्टी सदस्यता वितरण तथा नवीकरण पनि टुंगो लगाई सकेको छ । आयोगका प्रमुख श्रेष्ठले पार्टी सदस्य करिब ८ लाख पुगेको बताएका छन्

कमेन्टहरु