इरानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु, २४ घाइते


तेहरान । इरानको मध्य मरकजी प्रान्तमा शनिबार यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
सरकारी टेलिभिजनलाई उद्धृत गर्दै पीटीआईले जनाएअनुसार दुर्घटना मरकजी प्रान्तको सावेह–हमदान फ्रिवेमा भएको हो । प्रान्तीय ट्राफिक प्रहरीले चालकको थकान र निद्राका कारण बस अनियन्त्रित भएर पल्टिएको प्रारम्भिक जानकारी दिएको छ।
इरान सडक दुर्घटनाको उच्च जोखिम भएको देशमध्ये एक मानिन्छ। यहाँ प्रत्येक वर्ष सडक दुर्घटनामा १७ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको बताइएको छ। असुरक्षित सवारी साधन, ट्राफिक नियमको उल्लङ्घन तथा आपत्कालीन सेवाको अपर्याप्ततालाई दुर्घटनामा उच्च मानवीय क्षति हुनुका प्रमुख कारणका रूपमा उल्लेख गरिन्छ।
यसै महिनाको सुरुआतमा इरानको पश्चिमी सहर सनन्दाज नजिकै इन्धन बोकेको ट्याङ्कर अन्य सवारी साधनसँग ठोक्किएर विस्फोट हुँदा पनि ११ जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए।






















