Opens in a new tab

प्रबास

भारी वर्षापछि बैंककका सबै जिल्लामा विपद् घोषणा

नवलपुर टुडे
२०८३ अशोज १० | मध्यान्ह ०१:०६ बजे

बैंकक । थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्लामा विपद्को अवस्था घोषणा गरिएको छ।

विपद् घोषणा भएपछि स्थानीय निकाय तथा सम्बन्धित संस्थाहरूले आवश्यक उद्धार र राहतका कदम चाल्न सक्नेछन् । बैंककका गभर्नरका अनुसार बिहीबार दिउँसोदेखि राजधानीमा करिब ३०० मिलिमिटर वर्षा भइसकेको छ।

मध्य बैंककको उत्तरतर्फ नहर नजिकै बस्ने ६७ वर्षीया सोमकित फ्युक–ङामले पानी कम्मरसम्म पुगेको बताउनुभएको छ । लगातारको डुबानका कारण उनले दुई दिनदेखि आफ्नो पसल बन्द गर्नुभएको छ। ।

“पानी निरन्तर बढिरहेको छ। अहिले बाहिर निस्कन निकै कठिन छ। यसपटकको डुबान सन् २०११ को बाढीभन्दा पनि गम्भीर देखिन्छ।” सन् २०११ मा थाइल्यान्डमा आएको भीषण बाढीका कारण ५०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने लाखौँ घरमा क्षति पुगेको थियो।

बिहीबार दिउँसोदेखि लगातारजसो वर्षा भएपछि बैंककका सडक डुबानमा परेका छन्। राजधानीका नहरमा पानीको सतह बढ्दा नहर आसपासका धेरै घर र रेस्टुरेन्टमा पानी पसेको छ।

आरी क्षेत्रमा मोटरसाइकल चलाउने साम्रुआय नाक्कामनुएङले काममा जान घरबाट निस्कँदा अगाडिको सडक पूरै डुबेको बताए । “यति धेरै पानीमा मेरो मोटरसाइकल चलाउन सकिएला कि नसकिएला भन्ने चिन्ता लागेको थियो,” उनले भने ।

दक्षिणपूर्वी क्षेत्रमा पर्ने अन नुतमा स्थानीय बासिन्दाहरू घुँडासम्म आउने बाढीको पानीमा हिँडिरहेका देखिएका थिए। कतिपयले घर सुरक्षित राख्न बालुवाले भरिएका बोरा पनि तयार गरिरहेका थिए।

नहरहरू पानीले भरिए

बैंककका गभर्नर चादचार्त सिटिपुन्तले राजधानीको पूर्वी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताएका छन् । उनले थप वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरे ।

“वर्षा निरन्तर भइरहेको छ। हामी पानी बाहिर निकाल्न सक्दो प्रयास गरिरहेका छौँ, तर नहरहरू पनि पानीले भरिएका छन्,” उनले सामाजिक सञ्जालमार्फत भने । नहर आसपास बसोबास गर्ने मानिसहरूलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै उनले राजधानीका सबै नहर लगभग भरिइसकेको बताए ।

जीवनरक्षक स्वास्थ्य उपकरणमा निर्भर शय्यामा रहेका बिरामीहरूलाई केही समयका लागि अस्पतालमा सुरक्षित स्थानान्तरण गर्न पनि गभर्नरले सुझाव दिएका छन् । साथै, स्थानीय बासिन्दालाई आफ्ना सवारी साधन अग्लो स्थानमा सार्न आग्रह गरिएको छ।

बैंककको सार्वजनिक यातायात निकायले अक्टोबर २ सम्म सवारीसाधन सुरक्षित राख्नका लागि रेल सेवाका ‘पार्क एन्ड राइड’ पार्किङस्थल निःशुल्क प्रयोग गर्न दिने व्यवस्था गरेको छ।

विपद् रोकथाम तथा न्यूनीकरण विभागका अनुसार आइतबारसम्म पूर्वी, उत्तरपूर्वी तथा मध्य थाइल्यान्डमा न्यून चापको प्रभाव रहनेछ। यसका कारण आकस्मिक बाढी, पहाडी क्षेत्रबाट बग्ने पानी, पहिरो तथा नदीमा पानीको सतह बढ्ने जोखिम रहेको विभागले चेतावनी दिएको छ।

कमेन्टहरु