देश

सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु, आधा दर्जन भन्दा बढी घाईते

नवलपुर टुडे
२०७८ मंसिर ३ | मध्यान्ह ०२:०८ बजे

सप्तरी, ०३ मंसिर । सप्तरीमा ट्याक्टर दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ भने आधा दर्जन भन्दा बढी घाइते भएका छन् ।

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत जिल्लाको खडक नगरपालिका वडा नं – ६ स्थित बिसनपुरमा शुक्रबार ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा सिरहा नरहा गाउँपालिका पाँडा टोलका रामदेव यादवको ६५ वर्षीय पत्नी काशी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स १ त ६२५६ नम्बरको ट्याक्टरले बिपरीत दिशाबाट आउँदै गरेको बा ९३ प ३५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ट्याक्टर सडकबाट ५ मिटर तल खसेर पल्टिएको थियोे । दुर्घटनामा गम्भीर घाईते यादवको उपचारको क्रममा राजबिराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

ट्याक्टरमा सवार सिरहा नरहा गाउँपालिका वडा नं – ३ पाँडा टोलका ६५ बर्षीया प्रमिला यादव, २३ बर्षीय श्याम यादव, गोलबजार नगरपालिका चोहर्वाका नागेन्द्र यादवको १० बर्षीय छोरा पप्पु यादव घाईते भएका छन् । यसैगरी गोलबजार नगरपालिका वडा नं ४ का ३२ बर्षीया संगिया यादव, ४३ बर्षीया शुशिला यादव र प्रदिप यादवको ४ बर्षकी छोरी सिद्धान्त यादव घाईते भएको सप्तरीका प्रहरी प्रबक्ता काफ्लेले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल सवार झापाको हल्दिवारी गाउँपालिका-५ कंचनश्रीका ३९ बर्षीय नरेन्द्र पराजुली घाईते भएका छन् । घाईते सबै जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु