आज पनि प्रधानन्यायाधीशविरुद्धको कानुन व्यवसायीको आन्दोलन जारी


काठमाडौ । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको प्रदर्शन कार्यक्रमलाई शुक्रबार पनि निरन्तरता दिएका छन् ।
काठमाडौं उपत्यकाकाभरिका सबै अदालतस्थित बार एकाइका कानुन व्यवसायीहरू आ-आफ्ना ब्यानर लिएर बारको केन्द्रीय कार्यालय अगाडि जम्मा भइसकेका छन् । यसैबीच नेपाल बार एशोसिएशनले बारको आन्दोलनमा भएको दमन र आगामी कार्यक्रमहरु अनुगमन गर्न मानव अधिकार सम्बन्धी संघ संस्थालाई आह्वानसमेत गरिसकेको छ।
बिहीवार आकस्मिक पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा अदालतलाई युद्ध मैदानजस्तो बनाइएको भन्दै बारले मानव अधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुलाई आक्रमणको अनुसन्धान र आगामी कार्यक्रमहरुको अनुगमन गर्न आह्वान गरेको हो ।
बारले शुक्रबारदेखि सर्वोच्च परिसरबाट प्रहरी हटाउन गृह मन्त्रालय र सर्वोच्च अदालत प्रशासनको ध्यानाकर्षण गराएको छ । कुनै पनि कानून व्यवसायीमाथि आक्रमण तथा असुरक्षाको अवस्था उत्पन्न भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानन्यायाधीश, अदालत प्रशासन र गृह प्रशासनले लिनुपर्ने बारको भनाइ छ ।






















