सप्तरीमा गोरुगाडा दौड प्रतियोगिता सम्पन्न


सप्तरी, ०३ मंसिर । सप्तरीमा गोरुगाडा दौड प्रतियोगिताको सम्पन्न भएको छ । जिल्लाको खडक नगरपालिका र बोदे बर्साइन नगरपालिकाको बीचमा पर्ने खडक नदीमा नवाह यज्ञको अन्तिम दिन बुधबार गोरुगाडा दौड प्रतियोगिताको आयोजना गरिएको थियो ।
बर्तमान परिप्रेक्ष्यमा गोरु पाल्ने क्रम घट्दै गएपछि यसलाई प्रोत्साहित गर्न गोरुगाडा दौड आयोजना गरिएको बोदे बर्साइन नगरपालिका वडा नं २ बरहाका युवा अरबिन्द यादवले बताए । यो प्रतियोगितामा ७ जना गोरुगाडा सहभागी भएका थिए ।
प्रतियोगितामा सहभागी भएका गौराका कृषक श्याम प्रसाद यादवको गोरुगाडा प्रथम, डहबारी बस्ने महेन्द्र यादवको गोरुगाडा दोस्रो, गौरा गाउँकौ मुकेश यादवको गोरुगाडा तेस्रो र जोगिया गाउँका भागवत प्रसाद यादवको गोरुगाडा चौथो भएको आयोक समितिले जनाएको छ ।
प्रथम भएकालाई २ तौला चाँदी, २५ किलो पिना, १ बालटिन, २ घुँघरु र १ गम्छा, दोस्रो हृुनेलाई डेढ तोला चाँदीको तक्मा, २० किलो पिना, १ बाल्टिन, २ घुँघरु र १ गम्छा, तेस्रो भएकालाई १ तोला चाँदी, २० किलो पिना, १ बाल्टिन र १ गम्छा लगाएर सम्मान गरिएको छ । सान्तवना हुनेलाई नगद रु ५ सय प्रदान गरिएको थियो ।
यो प्रतियोगिता प्रत्येक वर्ष स्थानीय युवाहरुले आयोजना गर्दै आईरहेको छ ।






















