रुपन्देहीकाे देवदह ११ सहदौनिया निवासी रविन श्रेष्ठद्वारा श्रीमतीको हत्या


नवलपरासी / मंसिर २ । रुपन्देहीको देवदह ११ सहदाैनिया निवासी रविन श्रेष्ठले आफ्नो २३ बर्षीय श्रीमती दिलमाया श्रेष्ठको घाटी थिचेर हत्या गरेको इलाका प्रहरी कार्यालय धकधईका प्रहरी नायब निरिक्षक हरि नारायण श्रेष्ठले जानकारी दिएका छन् । प्रहरीलाई बिहान ९ बजे मात्रै घटनाको बारेमा गाउँलेहरुले जानकारी दिए पनि रातिनै श्रीमतीको हत्या गरेको हुन सक्ने प्रहरीले आकलन गरेको छ।
दिलमायाका श्रीमान २५ बर्षीय श्रेष्ठले आफ्नै श्रीमतीको हत्या गरेका हुन् । हत्या गरि पराल भित्र लुकाएर राखेका अवस्थामा श्रीमतीको शव फेला परेको थियो । घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको श्रेष्ठले स्वीकारेका छन् । श्रीमतीको हत्या गरे भनेर गाउँमा खुलेलाम हल्ला गर्दै हिडेका उनलाई गाउँलेहरू मिलेर प्रहरीको जिम्मा लगाएको स्थानीय अजय रौनियारले बताए ।
दशैंमा अर्घले गाउँपालिका – ६ पाल्पा माइत गएकी दिलमाया हिजो मात्रै घर देवदह ११ आएकी थिईन । श्रीमान रविनको आमालाई उदृत गर्दै प्रहरीले बताए अनुसार श्रेष्ठ लागु औषधको अम्मली रहेका थिए । घटना बारे थप अनुसन्धान भैरहेको र हत्या आरोपी श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय भैरहवा लगिएको प्रहरी नायब निरिक्षक श्रेष्ठले बताए ।






















