देश

प्रहरीले बल प्रयोग गर्दा बार अध्यक्ष श्रेष्ठसहित एक दर्जन वकिल घाइते

नवलपुर टुडे
२०७८ मंसिर २ | मध्यान्ह १२:०८ बजे

काठमाडौं । सर्वोच्च परिसरमा आन्दोलनरत कानुन व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गर्दा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन कानून व्यवसायीहरु घाइते भएका छन् ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले दमन गर्न प्रहरी परिचालन गरेको कानुन व्यवसायीहरुको आरोप छ । बिहीबार सर्वोच्च अदालत परिसरमा प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीको बल प्रयोगबाट घाइते भएका बार अध्यक्ष श्रेष्ठलाई अस्पताल लैजाँदै गरेको प्रदर्शनस्थलमा माइकिङ गरेर कानून व्यवसायीहरुले जानकारी दिएका छन् ।

कानुन व्यवसायीहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । धकेलाधकेल हुँदा सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायत भुइँमा लडेका थिए । एकजना डिएसपीको हातमा चोट लागेको छ । आफुहरुको शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबरा र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्न थालेका छन् ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले दमन गर्न प्रहरीलाई निर्देशन दिएको भन्दै कानुन व्यवसायीहरुले उनलाई माफी माग्न आग्रह गरेका छन् । कानुन व्यवसायीहरुले कुँवरलाई माफी मागेर आफूहरुलाई साथ दिन प्रदर्शनस्थलबाटै आह्वान गरे ।

कमेन्टहरु