सर्वोच्चमा प्रहरी र कानुन व्यवसायीहरुबीच धकेलाधकेल, थप प्रहरी परिचालन


काठमाडौं । प्रधानन्यायाधीशको राजीनामाको माग्दै आन्दोलनरत कानुन व्यवसायीहरुले बिहीबार पनि सर्वोच्च अदालतमा धर्ना दिएका छन् । आन्दोलनको क्रममा प्रहरी र कानुन व्यवसायीहरुबीच धकेलाधकेल भएको छ ।
प्रधानन्यायाधीशलाई अदालतमा प्रवेश रोक्न धर्नामा बसेका वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि धकेलाधकेल भएको हो । सर्वोच्च अदालत परिसरमा बिहीबार अरु दिनको तुलनामा थप प्रहरी परिचालन गरिएको छ । मंगलबार साँझ बसेको बारको बैठकले प्रधानन्यायाधीश जबराविरुद्ध थप आन्दोलनको घोषणा गरेका थियो ।
जसअनुसार बारले सर्वोच्च अदालत परिसरमा आन्दोलनलाई निरन्तरता दिँदै देश भरिका १८ वटा उच्च अदालतमा समेत विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । बारले शुक्रबारसम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए केन्द्रीय प्रतिनिधि पठाएर उच्च अदालतहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।






















