राजनीति

होटेल खर्च जोगाउन मुख्यमन्त्री राईलाई विश्वासको मत लिन हतार भयो : एमाले सांसद

जगत ठाडा मगर
२०७८ मंसिर १ | मध्यान्ह ०२:०८ बजे

मोरङ । प्रमुख विपक्षी दल नेकपा एमाले प्रदेश १ का सांसद हिक्मतकुमार कार्कीले सांसदलाई अड्याउन नसक्ने र होटेल खर्च बढ्ने देखिएर मुख्यमन्त्री राजेन्द्र राई विश्वासको मत लिन हतारिएको आरोप लगाएका छन् ।

बुधबार प्रदेश नम्बर–१ को प्रदेशसभा बैठकमा बोल्दै कार्कीले ‘सत्ता गठबन्धन जोगाउन, होटल खर्च जोगाउन, र सांसदहरुलाई अड्काउन गाह्रो भएकाले हो की ? यो कुरा हामी राम्रोसँग बुझ्छौ’ भनी टिप्पणी गरेका छन् । उनले आफूलाई लोकतन्त्रको नायक भन्ने नेपाली कांग्रेस र भर्खर बनेका दलले समेत त्यस्तै चरित्र देखाएको बताए । उनले भने, “पार्टी विभाजन गर्न २० प्रतिशत भए पुग्ने भनेर अध्यादेश ल्याउनेले त्यसलाई कानुन बनाउन सदनमा ल्याए हुन्छ । कानुन बनाएर अगाडि ल्याउन तयार हुनुहोस् । किन एमाले विभाजन भएपछि अध्यादेश फिर्ता गरियो ?”

कार्कीले आफ्नै पार्टीको अधिवेशन समयमै गर्न नसक्ने दलबाट धेरै अपेक्षा गर्न नसकिने प्रतिक्रिया दिए । राजनीतिक दलसम्बन्धी व्यवस्था गर्ने कानुनले जे व्यवस्था गरेको थियो, त्यसविपरीत काम भएको आरोप उनको आरोप छ । एमाले चुनावी प्रतिस्पर्धाका लागि तयार भएको बताउँदै उनले भने, “नेपाली कांग्रेसको विषयमा बुझ्न सकिएको छैन । २०७४ मा कांग्रेस हारेको मात्र थियो, तर अहिले कांग्रेसको सातो गएको हो कि ? उपचार नै गर्नुपर्छ कि भन्ने भएको छ ।”

लोकतन्त्रको रक्षार्थ कांग्रेस कमजोर भएको भन्दै कार्कीले सुदृढ र बलियो हुन सुझाव दिए ।

कमेन्टहरु