जनमत पार्टीका १७ जना कार्यकर्ता धरौटीमा छुटे


जनकपुरधाम, ०१ मंसिर । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएपछि पक्राउ परेका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरु धरौटीमा छुटेका छन् ।
गत कार्तिक ४ गते दिउँसो लाठी र बाँसको भाटासहित कार्यालय पुगेका राउतको पार्टीका कार्यकर्ताले इञ्जिनियर कुशवाहले लगाएको कपडा च्यातेर, शरीरमा हिलो छ्यापेर अर्धनग्न पारी बजार घुमाएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उक्त घटनामा प्रहरीले सिके राउतका १७ जना कार्यकर्तालाई पक्राउ गरी अपराधिक अभद्र र अमानवीय व्यवहार मुद्दा चलाएको थियो ।
प्रहरीका अनुसार जिल्ला अदालत धनुषाको आदेशमा पक्राउ परेका १७ जनामध्ये ७ जना एक लाख र १० जना ५० हजार धरौटीमा छुटेको हुन् । पक्राउ पर्नेहरुमा पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र महतो, धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाहीका सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादवलगायतका नेता तथा कार्यकर्ताहरु रहेका थिए ।






















