मंसिर १ गतेबाट विद्युतको नयाँ महसुल दर लागू, करिब २५ लाख उपभोक्ता लाभान्वित हुँदै


काठमाडौं । मंसिर १ गतेदेखि विद्युतको नयाँ महसुल दर लागू गरिएको छ । नेपाल विद्युत प्राधिकरणको प्रस्तावअनुसार विद्युत नियमन आयोगले निर्धारण गरेको नयाँ महसुल दर आजबाट लागू गरिएको हो ।
विपन्न नागरिकहरूलाई लक्षित गर्दै ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताहरूलाई इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँमात्र लाग्नेछ । मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिब २२ लाख ग्राहकहरू लाभान्वित हुनेछ । आयोगले ग्राहस्थ वर्गमा विद्युतको उपभोग बढाउन तथा उपभोक्ता माझ विद्युतको उचित मूल्य सुनिश्चित गर्न ग्राहस्थ वर्गको महशुलमा औसतमा २.८४ प्रतिशतले घटाएको हो ।
सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महशुल दरमा २५ रुपैयाँले कटौती गरी क्रमशः १००, १२५ र १५० रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै, मासिक ४०० युनिटमाथि विद्युत खपत गर्ने उपभोक्ताहरूको इनर्जी शुल्कमा प्रति युनिट १ रुपैयाँ घटाएको छ ।
त्यसैगरी, सिंगल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत खपत गर्ने ५ एम्पियर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महशुल दरमा २५ रुपैयाँले कटौती गरी क्रमशः १५०, १७५, २०० र २५० रुपैयाँ कायम गरिएको छ । विपन्न नागरिकहरूलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको हकमा इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँ मात्र लाग्नेछ ।
सिंगल फेजबाट आपूर्ति लिइ मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने उपभोक्ताको हकमा साविकको दरमा प्रति युनिट ५० पैसा घटाएर प्रतियुनिट ९.५० रुपैयाँ तय गरिएको र सिंगल फेजबाट आपूर्ति लिइ मासिक ४०० युनिटभन्दा माथि विद्युत खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको हकमा इनर्जी शुल्कमा प्रति युनिट १ रुपैयाँ घटाइएको छ ।
सिँचाइका ग्राहकको महसुल दर पनि घटाएको छ । यसपटक सबैभन्दा बढी लाभ सिँचाइका ग्राहकले पाएका छन् । उनीहरूले तिर्नुपर्ने महसुल औषतमा ४०.६९ प्रतिशतसम्म घटाइएको हो । २३०÷४०० भोल्टबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको इनर्जी शुल्क प्रतियुनिट २.०५ ले घटाएर २.२५ कायम गरिएको छ ।






















