कर्णाली प्रदेशका कृषि मन्त्री बने चन्द्रबहादुर शाशी


सुर्खेत । कर्णाली सरकारको कृषि मन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता चन्द्रबहादुर शाही नियुक्त भएका छन्।
मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्री शाहीले मंगलबार नै प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनियताको शपथ लिएका छन्।
कर्णालीमा सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँडमा सहमती जुट्न सकेको छैन।
कार्तिक १५ गते नै कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका थिए। तर उनले हालसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन्। बल्लतल्ल मंगलबार एक जना मन्त्री नियुक्त गरेका हुन्।
कर्णालीमा माओवादी, कांग्रेस र एकीकृत समाजवादीको गठबन्धन बनेको छ। तर यी दलहरुबीच मन्त्रालय भागबन्डामा आआफ्नै दाबी छ। आठ सदस्यीय मन्त्रिपरिषद्मा माओवादीले चार, समाजवादीले तीन र कांग्रेसले पनि तीन मन्त्रालय पाउनुपर्ने अडान लिएका छन्।
मन्त्रालय बाँडफाँडमा सहमती जुट्न बाँकी नै रहँदा नयाँ सरकार बनेको दुई सातापछि मुख्यमन्त्री शाहीले मंगलबार कृषि मन्त्री नियुक्त गरेका हुन्। भागबन्डा नमिलेकै कारण बाँकी मन्त्रीहरु भने मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै नियुक्त गरिने सत्तारुढ दलले जनाएका छन्।
मुख्यमन्त्रीले विश्वासको मतका लिनका लागि छिट्टै प्रदेशसभा बैठक बोलाउने सरकारले तयारी छ। नवनियुक्त कृषि मन्त्री शाही मुगु प्रदेशसभा (ख) बाट निर्वाचित सांसद हुन्। २०४२ सालबाट पूर्णकालीन राजनीतिमा सक्रिय भएका शाही हाल एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश कमिटीका सहसंयोजक हुन्।
एमालेको विद्यार्थी संगठन अनेरास्ववियूबाट राजनीति सुरु गरेका उनले विभिन्न आन्दोलनका क्रममा एक वर्ष जेल जीवन बिताएका छन्।






















