रौतहटको जुद्ध उच्च माध्यमिक विद्यालयमा विद्यार्थीहरुद्वारा तोडफोड तथा आगजनी


सिताराम साह
रौतहट, कार्तिक ३० । रौतहटमा सामुदायिक विद्यालयले अभिभावकहरुलाई ठग्दै अवैध रुपमा शुल्क उठाएको विरोधमा आज विद्यार्थीहरुले तोडफोड तथा आगजनी गरेका छन् ।
अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सार्वजनिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा कुनै पनि बहानामा शुल्क लिन मनाही गरेको छ । तर रौतहटको गौरमा रहेको देशकै जेठो मध्येको एक जुद्ध उच्च माध्यमिक विद्यालयले विद्यार्थीहरुबाट गैरकानूनी तरिकाले शुल्क उठाउने गरेको छ । अग्रेंजी माध्यमको शिक्षाको नाममा २०६७।६८ सालदेखि नै विद्यालयले शुल्क उठाउन शुरु गरेको थियो ।
तत्कालीन प्रधानाध्यापक नागेन्द्र प्रसाद मण्डलले शिक्षा नियमावलीलाई लत्याउदै पैसा कमाउने प्रथाको शुरुवात गरेकोले उनलाई कारवाहीको पहिलो सूचीमा राखिनु पर्ने विद्यार्थी नेता रवि मिश्रले बताए । शिक्षा नियमावलीको घोर उल्लघंन गरेर रौतहटको अभिभावकसँग जबरजस्ती शुल्क उठाउने प्रथाको शुरुवात गर्ने तत्कालीन प्रधानाध्यापक मण्डलदेखि वर्तमान प्रधानाध्यापक चन्देश्वर राउतसम्मको विरुद्ध कारवाही हुनुपर्ने विद्यार्थीहरुको माँग रहेको छ ।
“हामीले पटक पटक प्रधानाध्यापकलाई शुल्क नउठाउन तथा पाठ्यपुस्तक निशुल्क वितरण गर्न माँग गर्दा समेत विद्यालय प्रशासनले अटेर गर्यो ।” अनेरास्वयूका केन्द्रीय सदस्य रवि मिश्रले भने “गौर नगरपालिकाले सूचना नै जारी गरेर शुल्क नउठाउन भन्दा पनि विद्यालयले मानेको छैन, शुल्क तिर्न नसक्ने गरीबका बालबालिकाले अझै पुस्तक पाएका छैनन ।” सरकारले भनेको अनिवार्य निशुल्क शिक्षाको जुद्ध विद्यालयले खिल्ली उडाएको उनको तर्क छ ।
दुई थरिको शिक्षा प्रदान गरिरहेको सो विद्यालयले नेपाली माध्यममा पढने विद्यार्थीहरुलाई निशुल्क र अंग्रेजी माध्यममा पढने विद्यार्थीहरुले बोर्डिङ्ग स्कूलमा झै मासिक शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क र पाठयपुस्तकको समेत शुल्क तिर्नु परेको विद्यार्थीहरुले बताएका छन । आक्रोशित विद्यार्थीहरुले विद्यालयमा रहेका खानेपानीका ट्याङ्कहरु तोडफोड र आगजनि गरेका छन् ।
विद्यार्थीहरुले उग्र प्रर्दशन गर्न थालेपछि विद्यालयका प्रधानाध्यापक लगायतका पदाधिकारीहरु विद्यालय छोडेर निस्कीएका थिए । यस भन्दा पहिले पनि विद्यार्थीहरुले प्रदर्शन गर्दा विद्यालयका कर्मचारीहरु घाइते भएका थिए ।






















