सर्वोच्च परिसरमा आज पनि कानून व्यवसायीहरुको धर्ना


काठमाडौं । कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्धको प्रदर्शनलाई आज पनि निरन्तरता दिएका छन् ।
जबराले राजीनामा दिन आलटाल गरेपछि बारले सर्वोच्च परिसरमा आन्दोलन चर्काउँदै लगेको हाे । उनीहरुले प्रहरीको घेरा तोडेर मूल गेटसम्म पुगेका छन् । मूल गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई रोकेका छन् । सर्वोच्च परिसरमा अघिल्ला दिनहरुमा जस्तै सैनिक सुरक्षा तैनाथ बढाइएको छ ।
प्रधानन्यायाधीश जबरामाथि विवादास्पद फैसला गरेको, संवैधानिक नियुक्ति र कार्यपालिकामा हिस्सा खोजेको, न्यायालयभित्र भ्रष्टाचारलाई प्रश्रय दिएको, बिचौलियासँग साँठगाँठ गरेको लगायतका गम्भीर आरोप लागेपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले यही कात्तिक १४ गतेदेखि उनको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका छन् ।
समस्या समाधानका लागि जबराले संवादमा आउन आग्रह गरे पनि नेपाल बारले उनले राजीनामा नदिएसम्म प्रदर्शन जारी राख्ने बताएको छ ।






















