अन्य पार्टी त्यागेर एकीकृत समाजवादीमा प्रवेश गरेका नेताहरूले जिम्मेवारी


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले अन्य पार्टीबाट आएका नेताहरुलाई जिम्मेवारी प्रदान गरेको छ । आज सम्पन्न केन्द्रीय कमिटी बैठकले यसअघि भएका उक्त निर्णयलाई अनुमोदन गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
बैठकले मालेको पोलिट ब्युरो सदस्य त्यागेर पार्टी प्रवेश गरेको कुलप्रयाद फुयाल, शंकर पोखरेल र निलमणि बराल लगायतलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको छ । त्यस्तै बैठकले माओवादी केन्द्र परित्याग गरेका नेता रामचन्द्र झालाई केन्द्रीय कमिटीमा मनोनयन गरी सचिवालयमा राख्ने निर्णय भएको प्रवक्ता खतिवडाले बताए ।
त्यसैगरी एमाले त्यागेर आएका वंशिधर मिश्रलाई स्थायी कमिटीमा लैजाने र एमालेबाटै आएका डा. तारा जोशीलाई मनोनयन गर्ने पार्टीको निर्णय भएको छ । माले समूहबाट आएका श्याम राज राई केन्द्रीय परिषद्मा र कालीप्रसाद यादवलाई २ नम्बर प्रदेश कमिटीमा मनोनयन गर्ने निर्णय भएको छ ।
प्रवक्ता खतिवडाका अनुसार विभिन्न व्यक्ति र संगठन गरी एक दर्जनसँग पार्टीमा ल्याउने विषयमा छलफल जारी छ । बैठकले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न पनि सरकारसँग माग गरेको उनले बताए । कालापानी र लिम्पियाधुरामा जनगणना गर्ने व्यवस्था गर्न पनि बैठकले माग गरेको छ ।






















