देश

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्ष नयाँ पार्टी दर्ताको तयारीमा

जगत ठाडा मगर
२०७८ कार्तिक २८ | मध्यान्ह ०५:०७ बजे

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारीमा जुटेका छन् । निर्वाचन आयोगले अध्यक्ष रवीन्द्र मिश्र पक्षको निर्णयलाई आधिकारिता दिएपछि अल्पमतमा रहेको पाण्डे पक्षले नयाँ दल दर्ता गर्न छलफल थालेको हो ।

पाण्डे पक्षका एक नेताले हाल विवेकशील साझा पार्टी सुदृढिकरण अभियान भनेर गठन गरिएका समिति नै नयाँ पार्टीमा परिणत हुने बताए । यसका लागि पाण्डे पक्षका नेताहरु छलफलमा जुटिरहेको स्रोतले जनाएको छ । नयाँ पार्टी दर्ताका लागि सम्भावित नामहरुबारे पनि छलफल भइरहेको स्रोतको दाबी छ ।

स्रोतका अनुुसार विवकेशील साझा अग्रगमनसहितका नाम छलफलका क्रममा प्रस्ताव गरिएका छन् । तर पाण्डे पक्षका सचिवालय सदस्य केशव दाहालले भने नयाँ दल दर्ता गर्नेबारे छलफल नभएको दाबी गरेका छन् । उनले भने, ‘जुन हिसाबले पार्टी गलत दिशामा गयो, त्यसलाई ठिक गर्न राजनीति र वैधानिक संघर्ष जारी राख्छौं, मुल बाटो पक्षका साथीहरुलाई विचार समूहमार्फत एक ठाउँमा राख्छौं ।’

दाहालले अध्यक्ष मिश्र पक्षको वैकल्पिक राजनीतिक आन्दोलनप्रति निष्ठा नभएको बताउँदै भने, ‘पार्टीलाई वैकल्पिक बार्टी बनाउन, ठिक दिशा दिन पर्यत्न गर्छौं ।’ पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह गर्ने एजेण्डासहितको दस्तावेज ल्याएपछि पार्टीमा वैचारिक ध्रुवीकरण देखिएको थियो ।

मिश्रको प्रस्तावको विपक्षमा संयोजक पाण्डे, सचिवालय सदस्य केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनाले वैकल्पिक राजनीतिको मूल बाटो शीर्षकमा नयाँ दस्तावेज सार्वजनिक गरेको थिए । त्यसत पार्टीमा दुई पक्षबीच समानान्तर गतिविधि चलिरहेका थियो । त्यहीबीच मिश्र पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा ९१ जना केन्द्रीय सदस्यको उपस्थिति देखिएको थियो ।

निर्वाचन आयोगले पनि मान्यता दिएपछि संयोजक पाण्डेले त्यसविरुद्ध अदालतसम्म जान सक्ने चेतावनी दिएका थिए । अध्यक्ष मिश्रले आइतबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै सिटिजन्स डिसकसन फोरम र जनता दरबार पार्टीबीच एकता गर्ने निर्णय भएको बताएका छन् । तर पाण्डे पक्षका प्रवक्ता हरिशप्रसाद भट्टले विज्ञप्ति जारी गर्दै अध्यक्ष मिश्रको निर्णयलाई प्रतिक्रियावादीहरुको गठ जोड भनेका छन् ।

कमेन्टहरु