देश

गुल्मीमा बलात्कार गरी फरार रहेका दुई आरोपी पक्राउ

जगत ठाडा मगर
२०७८ कार्तिक २८ | मध्यान्ह ०१:०७ बजे

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले बलात्कार गरेर फरार दुईजनालाई पक्राउ गरेको छ। १७ वर्षीया बालिकालाई बलात्कार गरेर फरार कपिलवस्तु बाणगंगा नगरपालिका–१ पिपराका २१ वर्षीय चन्द्र बहादुर थापा र ३१ वर्षीया महिलालाई बलात्कार गरेर फरार गुल्मीको मुसिकोट नगरपालिका–८ का ४७ वर्षीय चन्द्र सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए।

आरोपित थापाले चन्द्रकोट गाउँपालिकाकी बालिकालाई ०७७ पुस २३ गते बलात्कार गरेर फरार भएका थिए।
उनलाई कपिलवस्तु प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भटराईसहितको टोलीले गत कार्तिक २५ गते घरबाटै पक्राउ गरी गुल्मी अदालत पेश गरेको पाण्डेयले बताए।

बलात्कार गरेपछि पनि बालिकालाई मानसिक तनाव दिन थालेपछि परिवारले गत कार्तिक १६ गते जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिएका थिए। यसैगरी, पक्राउ परेका अर्का आरोपित सार्कीले ०७८ भदौ १७ गते महिलालाई बलात्कार गरी फरार रहेका थिए। परिवारले भदौ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरी नायब उपरिक्षक पाण्डेयले बताए। उनलाई खोजतलास गर्ने क्रममा घर नजिकैबाट पक्राउ गरेर अदालत पेश गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।

कमेन्टहरु