देश

कार दुर्घटना अपडेट : मृतक चारै जना भारतीय रहेको पुष्टि

जगत ठाडा मगर
२०७८ कार्तिक २८ | मध्यान्ह १२:०७ बजे

रौतहट, २८ कात्तिक । भारतीय नम्वरको कार रौतहटमा दुर्घटना भई चारै जना मृतकको सनाखत भएको छ । चन्द्रनिगाहपुर– गौर सडकखण्ड अन्तर्गत झुन्खुनवा चोक नजिक शनिवार राति भारतीय नम्बर प्लेटको कार दुर्घटना भएको थियो ।

युके १२ सि २९०० नम्बरको भारतीय कार दुर्घटनामा मृत्यु हुनेमा भारत विहारका २५ वर्षीय दिनानाथ साह, ३० वर्षीय अरुण साह, २८ वर्षीय दिलिप महतो र २७ वर्षीय अमित महतो रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए ।

कार तीव्र गतिको कारण अनियन्त्रित भई सडक भन्दा २० मिटर छेउमै रहेको ठुलो खाडलमा खसेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै बम नहरमा रहेको सुरक्षा चेकजाँचको टोलीले तत्काल कारको सिसा फुटालेर ४ जनालाई निकाली उपचारको लागि जिल्ला अस्पताल गौरमा लगेपनि डाक्टरले मृत घोषणा गरेका उनले बताए ।

मृतक चारै जनाको खल्तीमा भेटिएको आइडी कार्डको आधारमा उनीहरुको भारत विहार राज्यको पूर्वी चम्पारण जिल्लास्थित पताही थाना वेतौना ठेगाना भएको खुलेको थियो । पहिचानको लागि भारतीय प्रहरीलाई तस्वीर सहितको म्यासेज पठाएपछि उनीहरुको परिवारजन आएर सनाखत भएको रौतहटका एसपी घिमिरेले जानकारी दिए ।

कमेन्टहरु