पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न बुटवलमा अनेरास्ववियूको प्रदर्शन


बुटवल । नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीले बुटवलमा प्रदर्शन र चक्काजाम गरेका छन् ।
बुधबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसमा गरेको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले बिहीबार बिहानै बुटवलमा चक्काजाम गरेका हुन् ।यसअघि पनि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल, मट्टितेल र ग्यास सिलिन्डरको मूल्य बढाएको थियो ।
निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएको छ । मुल्य वृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ र मट्टीतेल तथा डिजेलको मुल्य १ सय १९ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिन्डर १५ सय ७५ पुगेको छ ।
इन्धनको मूल्य बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेकोले मूल्यवृद्धि तुरुन्त फिर्ता लिन माग गर्दै बिहान ९ बजेदेखि राजमार्ग बन्द गरेको र यदि मुल्यबृद्धी फिर्ता नलिए थप आन्दोलनका कार्यक्रम गर्ने अनेरास्ववियू रूपन्देहीका सचिव प्रकाश पराजुलीले बताए।






















