श्वास परीक्षणले क्यान्सरयुक्त फोक्सोको नोड्युल पहिचानमा आशा देखायो


काठमाडौँ । साधारण श्वास परीक्षणले क्यान्सरयुक्त र क्यान्सर नभएको फोक्सोको नोड्युल छुट्याउन चिकित्सकलाई सहयोग गर्न सक्ने अस्ट्रेलियाको नेतृत्वमा गरिएको एक अध्ययनले देखाएको छ । यसले फोक्सोको क्यान्सरको प्रारम्भिक पहिचानमा सहयोग गर्नुका साथै केही बिरामीमा आक्रामक परीक्षणको आवश्यकता कम गर्न सक्ने अनुसन्धानकर्ताले बताएका छन् ।
ग्रिफिथ विश्वविद्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार अनुसन्धानकर्ताले दुई पूरक प्रविधिमार्फत बिरामीको श्वास विश्लेषण गरेका थिए । तीमध्ये ‘इलेक्ट्रोनिक नोज’ (ईनोज) ले श्वासमा रहेका रसायनका ढाँचा पहिचान गर्छ भने ‘ग्यास क्रोमाटोग्राफी–मास स्पेक्ट्रोमेट्री’ ले श्वासमा रहेका विशिष्ट वाष्पशील जैविक यौगिक पहिचान गर्छ ।
हाल फोक्सोका नोड्युलको मूल्याङ्कन गर्न ‘सीटी’ निर्देशित बायोप्सी र ब्रोन्कोस्कोपीलगायत आक्रामक प्रक्रियाको प्रयोग गरिन्छ । केही अवस्थामा शङ्कास्पद नोड्युलको परीक्षणका लागि शल्यक्रियासमेत गर्नुपर्ने हुन्छ । विश्वभर प्रत्येक वर्ष फोक्सोको क्यान्सरका करिब २५ लाख नयाँ बिरामी पहिचान हुने विज्ञप्तिमा उल्लेख छ ।
ग्रिफिथ विश्वविद्यालयका सहलेखक झाङ सीका अनुसार फोक्सोका नोड्युलको बायोप्सी प्राविधिक रूपमा चुनौतीपूर्ण हुन सक्छ, विशेषगरी नोड्युल सानो वा पहुँच गर्न कठिन स्थानमा भएमा । यस क्रममा फोक्सो खुम्चिनेलगायतका जटिलता देखिन सक्ने उनले बताए ।
श्वास परीक्षणले क्यान्सरयुक्त हुन सक्ने नोड्युल पहिचानमा सम्भावना देखाए पनि यसले बायोप्सीलाई प्रतिस्थापन गर्ने उद्देश्य नराखेको झाङले स्पष्ट पारे । बरु, कुन बिरामीलाई तत्काल आक्रामक उपचार वा थप परीक्षण आवश्यक छ भन्ने निर्णयमा चिकित्सकलाई सहयोग गर्न सक्ने उनको भनाइ छ ।
यस परीक्षणले नियमित उपचारमा गैरआक्रामक विधि थप्दै क्यान्सररहित नोड्युल भएका बिरामीमा अनावश्यक प्रक्रियालाई सम्भावित रूपमा कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।






















