छठ पर्व एक महिमा अनेक : एमाले नेता यादव


नवलपरासी/ कातिक २५ । छठ पर्व मध्यदेशिय प्रकृति पुजकहरुको महान पर्व भएको नेकपा एमालेका युवा नेता भगौती प्रसाद यादव(रुदल) ले बताएका छन् । रामग्राम १२ कसिया स्थि झरहीघाटमा आयोजित छठ पुजा समारोहमा उनले छठ पर्व एक महिमा अनेक भएको कुरा बताएका हुन् ।
समारोहका प्रमुख अतिथी समेत रहेका यादवले प्राचिनकालमा मगधका तत्कालिन सम्राट अशोकको बेला देखी चलनमा रहेको यस्तो पर्व अहिले रुपान्तरित हुदै यो अवस्थामा आएको बताएका थिए । सम्राट अशोकले भगवान बुद्धको अस्थिधातु रहेको स्तुप खनाउदै संसार भरि ८४ हजार स्थानमा वितरण गरि स्तुप बनाउन लगाएका थिए । ति स्तुपमा स्थानियबासीहरु साझ विहान ध्यान, पुजापाठ गर्दै आएका थिए ।
पछि त्यही परम्परा परिवर्तित हुदै अहिले जलासयको किनारमा स्तुपको स साना प्रतिमा बनाई पुजापाठ गर्दै गर्न थालेका थिए । अहिले यो छठ पर्व तिब्र रुपमा विस्तार हुदै भारत र नेपालमा मात्रै सिमित नभई विश्व स्तरमा बढदै गएको उनको भनाई थियो । सबै मानव समुदाय तथा प्रकृतिको पुजा गर्ने समुदायको आस्थाको केन्द्र बनेको छठ पुजालाई सरकारी तथा स्थानिय तहबाट ब्यवस्थित बनाउदै लैजानु पर्नेमा उनको जोठ थियो ।
छठ पुजाले सिमसार, नदीनाला लगायतका पानीको स्रोतको संरक्षण गर्न पनि आवश्यकता औल्याएको छ, उनले भने, यसलाई आस्था र श्रद्धाको विषय मात्रै नभई प्राकृतिक सन्तुलन तथा मानव जिवनसँग जोडेर हेर्नु पर्छ । पर्व एक छ, तर महिमा अनेक छ । यसलाई सबैले आत्म सात गर्नु पर्नेमा उनले जोड दिएका थिए ।






















