सुनसरी एमालेमा भाँडभैलो, बैठक बहिष्कारसम्म

जगत ठाडा मगर
२०७८ कार्तिक २४ | मध्यान्ह ०४:०७ बजे

सुनसरी । सुनसरी एमालेमा २ जेठ २०७५ मा फर्किने कि नफर्कने भन्ने विषयलाई लिएर भाँडभैलो भएको छ । सदरमुकाम इनरुवामा बुधबार बोलाइएको जिल्ला कमिटी बैठकमा नेताहरुबीच विवाद बढेपछि माइक खोसाखोस नै भएको छ ।
त्यस्तै जिल्ला कमिटीका ३२ जना नेताले बैठक गरेका छन् । २ जेठका विषयमा साविक अध्यक्ष रमेश बस्नेत र केपी ओली पक्षले अध्यक्ष बनाएका रेवतीरमण भण्डारी समूहबीच विवाद भएको हो ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्म निरौलालाई बैठकको अध्यक्षता गराएपछि विवाद बढेको थियो । बैठकमा निरौला बोल्ने क्रममा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीले माइक नै खोस्न पुगेका छन् ।
माइक खोसेपछि चौधरी भने कार्यक्रमस्थलबाट बाहिरिएका छन् । यसैबीच धरानका ३२ जना एमाले नेता कार्यकर्ताले उक्त बैठक बहिष्कार गरेका छन् ।






















