भोलिदेखि जनगणना सुरु, गणकले नै भर्नुपर्नेछ प्रश्नावली


काठमाडौ । भोलिदेखि देशभरको १२ औँ राष्ट्रिय जनगणना सुरु हुँदैछ। भोलि बिहान १० बजेदेखि जनगणना सुरु हुनेछ । केन्द्रीय तथ्यांक विभागले जनगणनाका लागि देशभर ४० हजार गणक खटाएको छ। उनीहरू देशभर छरिएर १५ दिनभित्र तथ्यांक संकलन गर्नेछन्। जनगणनाको सुरुवात राष्ट्रपतिबाट हुनेछ। भोलि बिहान ११ बजेपछि गणकहरू उपराष्ट्रपति र प्रधानमन्त्रीकहाँ जनगणना गर्न पुग्ने बताइएको छ।
त्यसपछि तालिकाअनुसार जनगणना गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
जनगणनाका लागि विभागले ४० हजारजना गणकलाई तालिम दिएर फिल्डमा खटाइसकेको छ। भोलिदेखि उनीहरूले घरघरमा पुगेर जनगणना सुरु गर्ने विभागका निर्देशक तीर्थराज चौलागाईंले जानकारी दिए। उनका अनुसार जनगणनाका लागि आठ हजार पाँच सयजना सुपरीवेक्षक खटाएको छ। त्यस्तै त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू पनि सुपरीवेक्षकको रूपमा खटिने छन्।
जनगणनाको क्रममा एउटा परिवारलाई करिब ८० वटा प्रश्न गरिनेछ। गणकले एक घरमा औसत २० देखि २५ मिनेट लगाउनेछन्। यसअघि तथ्यांक विभागले असोज २६ गतेदेखि कात्तिक १४ गतेसम्म घरपरिवार सूचीकरण कार्यक्रम सञ्चालन गरेको थियो। उक्त सूचीकरण कार्यपछि गणकलाई तालिम दिएर जनगणना गर्न थालिएको हो।
प्रश्नावली भर्दा छुटाउन नहुने विषय
जनगणनाको क्रममा धेरैथरी प्रश्नहरू सोधिनेछ। शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक पूर्वाधार, बैंक खाता, ऋण लिएको–नलिएको, रोजगार, बेरोजगार, परिवार सदस्य संख्या, महिला, पुरुष, अपांग, तेस्रोलिंगीलगायत विवरण फारममा भरिनेछ। यी विषयको विवरण अनिवार्य भर्नुपर्नेछ। गणकले व्यक्ति र परिवारको विवरण आउने गरी जनगणना गर्नेछन्। प्रश्नावलीमा वडालाई चाहिने सूचकांक, विकास लक्ष्यका सूचक, वडाको भौतिक सुविधा, सामाजिक अवस्था, प्राकृतिक प्रकोपको अवस्था, पछौटेपनलगायत विवरण पनि संकलन गरिनेछ। कतिपय तथ्यांक वडा कार्यालयबाट संकलन गरिनेछ।
कालापानी र लिम्पिया धुरामा जनगणना नहुने
नेपालको नयाँ नक्सामा नेपालको भूमि कालापानी र लिम्पियाधुरा समेटिए तापनि उक्त क्षेत्रमा जनगणना नहुने भएको छ। सरकारले ती क्षेत्रमा जनगणना गर्ने तयार नै गरेको छैन। भारतीय पक्षसँग स्वीकृति लिनुपर्ने भएकोले ती क्षेत्रमा हाललाई जनगणना नगरिने तथ्यांक विभागले जनाएको छ।






















