राजनीति

प्रदेश १ का मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिने

जगत ठाडा मगर
२०७८ कार्तिक २४ | मध्यान्ह ०३:०७ बजे

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले यही कात्तिक ३० गते मंगलबार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले कात्तिक ३० गते विश्वासको मत लिन लागेका हुन् ।

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक ३० गते दिउँसो साढे १२ बजेका लागि बोलाइएको छ । सोही बैठकबाट मुख्यमन्त्री राईले विश्वासको मत लिने भएका छन् । प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले यसअघि कात्तिक २३ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए । मुख्यमन्त्री राईले २३ गते नै विश्वासको मत लिने बताएका थिए । तर प्रदेशसभा बैठक ३० गतेसम्मका लागि स्थगित गरिएपछि सोही दिन विश्वासको मत लिन लागेका हुन् ।

‘कात्तिक २३ गते नै विश्वासको मत लिने कुरा थियो, तर विदा भएकाले प्रस्ताव दर्ता गर्न सकिएन,’ मुख्यमन्त्री राईले भने,‘ कात्तिक ३० गतेको बैठकमा विश्वासको मत लिन्छौँ ।’ विश्वासको मत लिनुभन्दा दुई दिन अगाडि प्रदेशसभा सचिवायलमा विश्वासको मतसम्बन्धी प्रस्ताव दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । दुई दिनअघि प्रस्ताव दर्ता गरेर ३० गते विश्वासको मत लिने तयारी रहेको मुख्यमन्त्री राईले बताए ।

हाल ९२ सदस्यीय प्रदेशसभामा सत्तापक्षीय पाँच दलीय गठबन्धनका ५० जना सदस्य छन् । प्रमुख प्रतिपक्षी एमालेसँग ४० र राप्रपासँग एक सांसद छन् । मुख्यमन्त्री राईले गठबन्धनमा रहेको दल नेपाली कांग्रेसबाट दुई, माओवादी केन्द्र र जसपाबाट एक–एक जना मन्त्री र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना राज्यमन्त्री छनौट गरेका छन् ।

विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री राईले बताएका छन् ।

कमेन्टहरु