देश

१२औं राष्ट्रिय जनगणना भोलिदेखि, राष्ट्रपतिबाट शुरुआत गरिने

जगत ठाडा मगर
२०७८ कार्तिक २४ | मध्यान्ह ०२:०७ बजे

काठमाडौं । १२औं राष्ट्रिय जनगणना भोलिदेखि सुरु हुदै छ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिने भएका छन् ।

सुरुमा राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने भएको छ । यसका लागि गणकहरु बिहान ९ः३० बजे राष्ट्रपति कार्यालय पुग्ने छन् । त्यसपछि गणकहरु बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाकोमा र दिउँसो १ बजे उपराष्ट्रपति कहाँ पुग्ने भएका छन् । उनीहरुले हरेक घर, परिवारसम्म पुगेर कुल ८० वटा प्रश्न हाराहारी सोधिने भएको छ ।

एक परिवारमा औसत: एक जना गणकलाई २० मिनेट लाग्ने उनले जानकारी दिए । जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर ८५०० जना सुपरीवेक्षक खटिएका छन् । उनीहरुलाइ दिनुपर्ने सबै प्रकारको तालिम पूरा भएको महानिर्देशक श्रेष्ठले जानकारी दिए । यसपटक जनगणनाका लागि काठमाडौं जिल्लामा ट्याबलेट कम्प्युटरको प्रयोग गरिने भएको छ ।

कुल २२५० वटा ट्यावलेट प्रयोग हुने तथ्यांक विभागले जनाएको छ । जनगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने भन्दै श्रेष्ठले सबैलाई ढुक्क भएर सोधिएको प्रश्नको जवाफ दिन आग्रह गरे । जनगणनामा भाग लिनु एक असल नागरिकको कर्तव्यसमेत भएको भन्दै उनले कसैले पनि नाइनाष्टि नगर्न आग्रह गरे । एक जना गणकले औसतमा १५ दिनमा १७५ परिवारको गणना गर्नुपर्ने हुन्छ ।

जनगणनाको तथ्यांक संकलन १५ दिनभित्रै सक्नुपर्ने श्रेष्ठले निर्देशन दिए । अहिले संकलन गरिएको तथ्यांक प्रशोधन गरी नतिजा प्रकाशन गर्न करिब ६ देखि ८ महिना लाग्ने छ । संकलित तथ्यांक मङ्सिर मशान्तसम्म केन्द्रमा आउने र प्रारम्भिक नतिजा ३ महिनाभित्र प्रकाशन गर्ने विभागको तयारी छ ।

कमेन्टहरु