देश

धनुषामा यात्रुबाहक बसमा दुर्घटनालगत्तै आगलागी, १२ यात्रु घाइते

जगत ठाडा मगर
२०७८ कार्तिक २४ | मध्यान्ह १२:०७ बजे

धनुषा । धनुषामा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दाङबाट बिराटनगरतर्फ जाँदै गरेको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको धनुषाधाम नगरपालिका–६ मालटोलमा दुर्घटना भइ बसमा आफै आगलागी भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा ७ जना महिला, चार पुरुष र एक बालक रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए । उनीहरुको परिचय भने खुल्न नसकेको बताइएको छ । बुधबार बिहान करिब ८ बजेतिर ना ६ ख ७१०२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट खस्दा दुर्घटना भएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए ।

उनका अनुसार घाइते मध्ये १० जनाको स्थानीय स्वास्थ्य उपचार केन्द्रमा र दुई जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ । बसमा सवार अन्य यात्रुहरु सकुशल रहेको सुवेदीले बताए । आगजनीमा अधिकांश यात्रुको समान जलेर नष्ट भएको छ ।

‘सडकबाट तल खसेको बसमा आफै आगो लागेको हो । बस पल्टिने क्रममा तेल टंयाकी फुट्न गइ बसमा आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ,’ प्रहरी निरीक्षक सुवेदीले भने । बसमा लागेको आगो ढल्केवरस्थित दंगा नियन्त्रण गणका सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केवरले बरुण यन्त्रको सहयोगमा नियन्त्रण लिइएको छ ।

कमेन्टहरु