एमाले महाधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दै


काठमाडौं । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक (आज) बुधबार बस्दैछ । दिउँसो १२ बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ नेतृत्वको २१ मुल व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
एमालेले आगामी मंसिर १०–१२ चितवनमा दशौं राष्ट्रिय महाधिवेशन गर्दैछ । एमालेले कात्तिक २७ गते महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्दैछ । महाधिवेशन मिति नजिकिँदै जाँदा एमालेमा नयाँ नेतृत्वबारे चर्चा परिचर्चा हुन थालेको छ । नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १२ वटा समितिहरु बनाउने निर्णय गरेको थियो ।
जसअनुसार एमालेले प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, अतिथि सत्कार समिति, खाद्य व्यवस्थापन समिति, स्वयमसेवक परिचालन, मञ्च व्यवस्थापन समिति, सांस्कृतिक समिति र जनपरिचालन समिति बनाइसकेको छ । बाँकी चारवटा समितिहरु आज बस्ने व्यवस्थापन समितिको बैठकले घोषणा गर्ने तयारी गरेको एमाले केन्द्रीय सदस्य तथा महाधिवेशन मुल व्यवस्थापन समितिका सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।
तामाङका अनुसार उपसमितिहरू फर्मेशन बाहेक प्रचार योजना, बजेट, महाधिवेशनका लागि आर्थिक संकलनको प्रक्रिया लगायतका विषयमा बैठकमा छलफल हुनेछ । एमालेले महाधिवेशनमा लाग्ने खर्च कार्यकर्ताबाटै संकलन गर्ने तयारी गरेको छ । त्यसका लागि पदाधिकारी, केन्द्रीय सदस्य र लाभको पदमा पुगेका बाहेक प्रत्येक संगठित सदस्यबाट सय रुपैयाँका दरले संकलन गर्ने एमालेको योजना रहेको छ ।






















