कैलाली हत्या प्रकरण – हत्याको आशंकामा ६ जना पक्राउ


धनगढी । कैलालीमा मंगलबार राति चक्कु प्रहार गरेर युवकको हत्या गरिएको प्रकरणमा प्रहरीले अनुसन्धानका लागि ६ जनालाई पक्राउ गरेको छ ।
दुई समूह बीच झडप हुदा ज्यान गुमाएका लम्कीचुहा नगरपालिका-१ का भुपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आशंकामा घटनास्थलमा उपस्थित तीन र अन्य तीन गरेर ६ जनालाई नियन्त्रणमा लिइएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीले चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावलका छोरा महेशको स्कुटर घटनास्थलमा भेटिएपछि अनुसन्धानका लागि रावल, उनकी श्रीमती र एक छोरालाई नियन्त्रणमा लिइएको जानकारी दिए । रावलका अर्का छोरा नवीन भने फरार रहेकाले उनको खोजी भइरहेको उनले बताए ।
प्रहरीकाअनुसार आइतबार नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका मेजर अशोकजंग शाही र होटलका सञ्चालक रावलबिच विवाद भएको थियो । स्थानीयले आक्रोशमा ढुङ्गामुढा गरेर मेजरको निजी गाडी तोडफोड समेत गरेका थिए भने उनको टाउकोमा पनि सामान्य चोट लागेको थियो ।
बुधबार बिहान पीडितका आफन्तले आक्रोशित हुँदै संगम होटलमा तोडफोड गर्ने प्रयास पनि गरेका थिए । तर सम्झाइबुझाइ गरेपछि उनीहरु आ-आफ्नो घर फर्किएको प्रहरीले जनाएको छ ।






















