विराटनगर कारागारमा कैदी बन्दीबिच झडप, ६ जना कैदी घाइते


विराटनगर । विराटनगर कारागारमा दुई पक्षीय कैदी बन्दीबिच झडप भएको छ । कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदीबन्दीबीच मंगलबार बिहान दोहोरो झडप भएको हो ।
झडपमा चौकीदार किरण गुरुङ र नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता गरि ६ जना घाइते भएको कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । घाइते भएका उनीहरुलाई उपचारका लागि कोशी अस्पताल पठाइएको छ । चौकीदार गुरूङ समूहको अत्याचार सहन नसकेपछि कैदीबन्दीहरु आपसमा विवादमा उत्रिएर झडपको स्थिति भएको बताइएको छ ।
गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यातना दिएको कैदीबन्दीको आरोप छ । विवादकै क्रममा कैदीबन्दीले गुरुङसहित उनको समूहका १४ जना नाइके र भाइ नाइकेहरूलाई जेलभित्रैको एउटा कोठामा थुनिदिएका थिए । पदम कुमार लिम्बु, निर्मल ढकाल, राम कुमार राई, रमेश मण्डल, किरण गुरुङ, शखेर राई, बिशाल मुक्ताङ, डिल्ली देवान, रोशन दाहाल, सूर्यदीप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई र बविहाङ राईलाई यहाँका अन्य कैदी बन्दीहरुले एउटा कोठामा थुनिदिएका हुन् ।
थुनिएका कैदीहरूलाई प्रहरीले सुरक्षाका लागि काराागारबाट बाहिर निकालेर राखेको छ । उनीहरुलाई कारागारबाट बाहिर निकालेपछि आन्दोलित कैदीबन्दीहरु बल्ल शान्त भएका छन् । ‘कारागार भित्र होहल्ला भएपछि हामीले चौकीदारसहित १४ जनालाई बाहिर निकालेर राखेका छौँ,’ जेलर पोखरेलले भने, ‘१४ जनालाई बाहिर निकालेपछि कारागारभित्रको माहोल शान्त भएको छ ।’
१४ जनाको हकमा भित्र बस्ने बातवरण नहुने भएपछि उनीहरूलाई अन्यन्त्र कारागारमा सरुवा गरी पठाउने तयारी गरेको पोखरेलले बताए । १४ जनालाई कुन कारागारमा पठाउने निर्णय भने भइनसकेको उनले बताए ।






















