नेपाल आइसिसि टी–२० विश्वकपको ग्लोबल छनोटमा


काठमाडौ । नेपाल आइसिसी पुरुष टी–२० विश्वकप २०२२ को ग्लोबल छनोटमा छनोट भएको छ । योसँगै नेपालले अब क्षेत्रीय छनोट प्रतियोगिता खेल्नु नपर्ने भएको छ । आइसिसी टी–२० वरीयताका आधारमा नेपालले सीधै ग्लोबल छनोट खेल्ने अवसर पाएको हो ।
अहिले नेपाल आइसिसी टी–२० को १३औँ स्थानमा छ । अबको खेलमा नेपालले जिम्बाबे, युएई, हङकङ तथा पपुवा न्युगिनी जस्ता राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछ । सन् २०२२ को फेब्रुअरी तथा मे महिनामा ग्लोबल छनोट हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले सीधै छनोटमा परे पनि ग्लोबल छनोटको तयारी तथा पुनः विश्वकप खेल्ने सपना पूरा गर्न धेरै म्याच एक्सपोजर आवश्यकता रहेको बताएका छन् ।
सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा नेपाल पहिलोपटक छनोट भएको थियो । ‘सीधै ग्लोबल छनोटमा पुग्नु राम्रो हो तर यो चरण पार गर्न त्यति सहज छैन,’ कप्तान मल्लले भने, ‘हामीले ग्लोबल छनोट हुँदै विश्वकप खेल्ने सपना पूरा गर्नु छ । यसका लागि बढीभन्दा बढी अन्तर्राष्ट्रिय म्याच एक्सपोजर खेल्नु पर्छ ।’ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले २०२० को जनवरीको वरीयताअनुसार नै सन् २०२२ को विश्वकप ग्लोबल छनोट प्रक्रिया सार्वजनिक गरेको हो ।
अर्को वर्ष अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा शीर्ष आठ टोली सुपर १२ मा पुगेका छन् । आयोजक अस्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र बंगलादेश, अफगानिस्तानले सुपर १२ मा स्थान पक्का गरेका हुन् । युएई र ओमानमा जारी टी–२० विश्वकपको सुपर १२ मा पुगेका श्रीलंका, वेस्ट इन्डिज, स्कटल्यान्ड तथा नामिबिया पनि अर्को वर्ष हुने विश्वकपमा छनोट भएका छन् । यी सबै टोली पहिलो चरणमा रहेका छन् ।
आइसिसीले अस्ट्रेलियामा हुने विश्वकपमा १६ टोली भाग लिने जनाएको छ । बाँकी चार टोली ग्लोबल छनोट माध्यमबाट आउने आइसिसीले जनाएको छ । वरीयताअनुसार नै आइसिसीले क्षेत्रीय छनोट खेल खेल्नु नपर्ने राष्ट्रहरूको नाम सार्वजनिक गरेको हो ।






















