एमालेलाई अवरुद्ध संसद् सुचारु गराउन गृहमन्त्री खाणको आग्रह


जनकपुर । गृहमन्त्री बालकृष्ण खाणले सरकारले न्यायालयभित्र देखिएको विवाद छिटोभन्दा छिटो समाधान होस् भन्ने चाहेको बताएका छन्। आज जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री खाणले न्यायपालिकाभित्र देखिएका समस्या संवेदनशील र गम्भीर रहेको उल्लेख गर्दै छिटो समाधान होस् भन्ने पक्षमा सरकार रहेको प्रस्ट्याएका हुन्।
उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका शक्ति सन्तुलनको हिसाबले पनि स्वतन्त्र ढंगले चल्ने गरेको उनले बताए। ‘न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका ३ वटा अंगहरू स्वतन्त्र छन्। र, शक्ति सन्तुलनको हिसाबले पनि ती अंगहरू स्वतन्त्र ढंगले नै चल्दछन्। न्यायपालिकामा जुन खालको विवाद देखिएको छ, त्यो संवेदनशील र गम्भीर छ। त्यो विवाद छिटोभन्दा छिटो सल्टियोस् भन्ने हाम्रो चाहना छ,’ गृहमन्त्री खाणले भने।
सरकारले नागरिकता विधेयक पनि छिटोभन्दा छिटो पास गर्न चाहेको उल्लेख गर्दै उनले प्रमुख प्रतिपक्ष दल एमालेलाई अवरुद्ध सदन सुचारु गराउन आग्रह गरे। उनले भने, ‘नागरिकता ऐन हामी छिटोभन्दा छिटो पास गर्न चाहन्छौँ। किनकि नागरिकताको समस्यालाई हामीले संवेदनशील रूपमा लिएका छौँ। म मूल प्रतिपक्ष नेपाल कम्युनिस्ट पार्टी (एमाले)लाई तपाईंहरूमार्फत आग्रह गर्न चाहन्छु– सदनलाई व्यवस्थित रूपमा चलाऔँ। सरकारका कमीकमजोरीहरूलाई पनि सुधार्दै जाऔँ।’






















