राजनीति

बागमती प्रदेशसभा बैठक : मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने

जगत ठाडा मगर
२०७८ कार्तिक २२ | बिहान १०:०७ बजे

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज विश्वासको मत लिने भएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्।

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका गरी कुल ५९ प्रदेशसभा सदस्यको समर्थनमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई गत कार्तिक ११ गते मुख्यमन्त्री नियुक्त गरेका थिए।

पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भइसकेकाले पेश भएको प्रस्तावमाथि बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइने बताइएको छ। गत भदौ २५ गते नेकपा एमाले विभाजनपछि भदौ २७ गते नेकपा एकीकृत समाजवादीमा आवद्ध १३ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई दिएको समर्थन फिर्ता लिएको थियो। विश्वासको मत लिनैपर्ने कानुनी प्रावधानअनुसार अघि बढेकी शाक्यले अन्ततः विश्वाको मत नलिइ कात्तिक १० गते राजीनामा दिएका थिईन ।

शाक्यको राजीनामापछि एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बनेका हुन्।
धादिङ क्षेत्र १ (क) मा एमालेबाट निर्वाचित पाण्डे २०१३ साल जेठ २९ मा धादिङ गजुरीमा जन्मिएका थिए। राजनीतिमा आउनुअघि शिक्षण पेशामा आबद्ध उनले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन्। २०३६, २०३८ र २०४२ सालमा सम्पन्न शिक्षक आन्दोलनको नेतृत्व समेत गरेका पाण्डे नेकपा मालेको सहसचिव हुँदै २०४३ मा जिल्ला पञ्चायत सभापति भएका थिए।

पाण्डेले २०५० वैशाख २० नेपालगन्जमा सम्पन्न छैटौं महाधिवेशनबाट अञ्चल सचिवको जिम्मेवारी सम्हालेका थिए। उनी २०५५ मा केन्द्रीय सदस्य भए। धादिङमा नेकपा एमालेका तर्फबाट २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका उनी हाल नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष छन्। यस अघि पाण्डेले स्थानीय विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।

कमेन्टहरु