देश

रौतहटको दुर्गा भगवती गाउँपालिकाको नगर कमिटिद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

जगत ठाडा मगर
२०७८ कार्तिक २१ | मध्यान्ह ०७:०७ बजे

सिताराम साह
रौतहट, कार्तिक २१ गते । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एवं प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले देशको निकास जसपाले मात्र दिन सक्ने बताएका छन ।

सबै पार्टीले देशको नेतृत्व गरेपनि देश विकासमा कुनै परिवर्तन नआएकोले अब जनता समाजवादी पार्टीले मात्र देशलाई समृद्ध र विकसित बनाउन सक्ने राज्य मन्त्री यादवले बताए । जसपा कुनै एकल जातजाति अथवा समुदायको नभइ सबै जातजाति र समुदायको साँझा पार्टी भएको समेत उनले बताए । अन्य पार्टी जातजाति र समुदाय हेरी भेदभाव गर्ने गरेको बताउँदै राज्य मन्त्री यादवले जसपा कसैलाई पनि कुनै प्रकारको विभेद नगरी सबैलाई सम्मान अधिकार दिन सक्ने तथा मान सम्मान गर्ने पार्टी भएको बताए ।

छठ पर्वको अवसरमा आज शनिवार गृह जिल्ला रौतहटको पिपरा स्थित सामुदायीक भवनमा जनता समाजवादी पार्टीको दुर्गा भगवती गाउँपालिकाको नगर कमिटिद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राज्य मन्त्री यादवले आफनो पार्टी सबै जातजाति र समुदायका व्यक्तिलाई मान सम्मान गर्नुका साथै उचित स्थान समेत दिन सक्ने भएकोले जसपामा नै लाग्न सबैलाई आग्रह गरेका छन ।

अहिलेसम्म कुनै पनि पार्टीले तत्मा, पास्वान अर्थात दुसाधलाई सांसद बनाउन नसकेको अवस्थामा एक मात्र पार्टी जनता समाजवादी पार्टीले नै चमेली दास तत्मा, रामप्रित पास्वान जस्ता व्यतिलाई सांसद बनाएको उनले बताए । जनता समाजवादी पार्टी सबै जातजाति एवं समुदायको हक अधिकारका लागि लडदै आएको र अब देशमा भइरहेको भ्रष्टाचार अन्त्य गरी देशलाई विकसित र समृद्ध बनाउने महाअभियानमा लागेकोले देश बनाउने यो महाअभियानमा सहभागि हुन उनले सबैलाई आग्रह गरे ।

कांग्रेस, एमाले र माओवादी पटक पटक देशको नेतृत्व गरेपनि खासै देशमा परिवर्तन नभएको उनको दावी छ । कांग्रेस, एमाले र माओवादीलाई जनताले राम्ररी बुझिसकेको हुँदा यो तिन वटै पार्टीको देशमा अब कुनै काम नरहेकोले देशको नेतृत्व अब जनता समाजवादी पार्टीले नै गर्ने बेला आएको उनले बताए । मधेशी जनताको हक अधिकार दिलाउन सक्ने र देशलाई समृद्ध र विकसित एक मात्र पार्टी जसपाले नै बनाउन सक्ने मन्त्री यादवले दावी गरे ।

आउँदो निर्वाचनमा जसपा देशकै बैकल्पिक शक्तिको रुपमा उदय हुने भएकोले अहिलेदेखी नै जसपामा लाग्न सबैलाई अनुरोध गरे । रौतहटको दुर्गा भगवति गाउँपालिका १ गंगा पिपराको सामुदायीक भवनमा आज जनता समाजवादी पार्टीको शुभकामना आदान प्रदान कार्यक्रम उत्साहवर्धक जनसहभागितामा सभ्य एवं भव्य रुपमा सम्पन्न भएको छ । पुर्व मन्त्री एवं जनता समाजवादी पार्टीका कार्यकारीणी समिति सदस्य गोविन्द चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पुरुष भन्दा बढी महिलाको सहभागिता रहेको थियो ।

आजको कार्यक्रममा महिला पुरुषको भएको उत्साहजनक सहभागिताले जसपा प्रति आम नागरिकको विश्वास र सक्रियता बढदै गएको देखिएको छ । कार्यक्रममा आफना मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री गोविन्द चौधरीले जसपा प्रति आम नागरिकको विश्वास र भरोसा बढदै गएकोले यस पार्टीमा आउनेको संख्या पनि बढदै गएको बताएका छन ।

जसपाको विचार, सिद्धान्त र एजेण्डाको आधारमा यस पार्टीमा प्रवेस गर्नेको संख्या बढदै जाँदा आउँदो निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार विजयी हुनुमा कुनै संका नरहेको उनले बताए ।
कार्यक्रममा जसपाका केन्द्रिय सदस्य रेवन्त झा, योगेन्द्र प्रसाद यादव, किरण ठाकुर, प्रदेश कमिटि सदस्य विरेन्द्र यादव, दलित विकास समितिका सदस्य समेत रहेको युवा नेता राजकुमार दास, श्याम विहारी यादव, समाजवादी युवा संघका जिल्ला अध्यक्ष कौशरखान मिथिला लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।

कमेन्टहरु