नवलपरासीमा तलाउ तथा सरोवरको सफाई अभियान जारी


सुरेश यादव
नवलपरासी, कार्तिक २१। हिन्दूहरूको महान चाड वडा दशैँ र तिहारको समापन सँगै तराई मधेशका जिल्लाहरुमा यतिबेला हर्षोल्लासका साथ तलाउ, पोखरी र सरोवरहरुको सरसफाई हुन् थालेका छन् ।
सरसफाइसँगै बजार यतिबेला भरिभराउ भएका छन् । स्थानीयवासीहरु छठको लागि चाहिने सामग्रीहरू ढकिया, कोनिया, कोशियाकुर्वार, बदहि, नरिवल, केरा, नैवेद्य लगायत नयाँ कपडा लुगाफाटो, मिष्ठान बनाउने सामग्री किन्नमा व्यस्त भएका छन् । कार्तिक शुक्ल पक्षको चौथी तिथिमा मनाइने छठ पर्वमा उदाउँदो सुर्य र अस्ताउदो सुर्यलाई अर्घ दिएर समापन गरिने यस पर्वमा ठाउनुसार फरक फरक किसिमले पूजा प्रसादको तयारी गरिन्छ ।
ठकुवा, भुसुवा, लड्डु, हरिया तरकारी, फलफूल, केरा, उखु, अदुवाको बोट, हर्दिको बोट, लगायतका सामाग्री छठको लागि आवस्यक मानिन्छ । नवलपरासीका सुस्ता, महेशपुर, बर्दघाट, प्रतापपुर, जमुनाबारि, गोवरहिया, परासी लगायतका क्षेत्रमा यतिबेला छठ पूजा समितिद्वारा सरसफाई कार्यक्रम थालिएको भोजपुरी कलाकार रामजी प्रजापतिले बताएका छन् ।
छठको अघिल्लो दिनलाई खर्ना भनिन्छ । यस दिन व्रतालुले दिनभरि निष्ठापूर्वक उपवास बसी बेलुका घरमा पूजा गरी भोलिपल्ट वर्त लिने चलन छ । दिनभरि पूजा सामग्री बनाई बेलुका अर्थात् साँझको बेला घाटमा गएर उदाउँदो चन्द्र र अस्ताउँदो सूर्यलाई अर्घ दिएर भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजाको विसर्जन गरिन्छ जसलाई पर्ना भनिन्छ । अत्यन्तै निष्ठापूर्वक मनाइने यस पर्वमा भाकल गर्नाले सन्तानको प्राप्ति हुने, रोग मुक्त हुने जनविश्वास रहिआएको छ ।
तलाउमा नुहाएर निष्ठापूर्वक व्रत लिने चलन छ । पर्वको समापनसँगै व्रतालुले मीठा मीठा खानेकुरा खाने तथा प्रसाद वितरण गर्ने चलन रहेको पाइन्छ ।






















