मधेशमा भाई–बहिनीको पवित्र पर्व ‘भरदुतिया’ मनाउँदै


राजविराज, २० कात्र्तिक । तराई–मधेशमा आज भाईटिका अर्थात भरदुतिया पर्व विधिवत रुपमा मनाइदैछ । यो वर्ष दीपावलीको दुई दिन पश्चात् अर्थात् कात्र्तिक महिनाको शुक्ल पक्ष द्वितीया तिथिको मनाइने परम्परा छ । यो पर्वमा बहिनीहरुले भाइलाई निमन्त्रणा दिएर आफ्नो घर बोलाउने गर्छन् ।
दिदीबहिनीले दाजुभाईलाई चामलको पिठोले आगनमा अरिपन बनाएर काठको पिडहीमा बसाउँछन् । त्यसपछि दाजुभाईको हाटमा पान, सुपारी, पैसा, फलफुल राखेर मैथिली भाषमा मन्त्र उच्चारण गरिन्छ ।
मन्त्रमार्फत दिदीबहिनीले दाजुभाईको दीर्घायुको कामना गर्छन् । पूजा सकिएपछि दाजुभाईलाई मिठाई लगायत परिकार खुवाउने चलन छ । तिहारको भाइटिका र यो पर्वको मान्यता एउटै भएपनि ठाउँ अनुसार मनाउने विधि भने फरक–फरक पाइन्छ ।
दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु आरोग्य ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई भाइटीका र भरदुतिया मनाइँदैछ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।






















