Opens in a new tab

प्रबास

नेतन्याहुको संयुक्त राष्ट्रसंघ भ्रमणविरुद्ध न्युयोर्कमा प्रदर्शन, १०३ जना पक्राउ

एजेन्सी
२०८३ अशोज ९ | मध्यान्ह ०३:०६ बजे

न्युयोर्क । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरिरहेका बेला न्युयोर्कमा उनको भ्रमणविरुद्ध विभिन्न प्रदर्शन भएका छन् ।

प्रदर्शनकारीहरूले गाजामा इजरायलको युद्धका लागि जवाफदेहिता माग्दै अमेरिकाले इजरायललाई दिँदै आएको सैन्य सहयोग अन्त्य गर्न आह्वान गरेका छन् । प्रदर्शनका क्रममा १०३ जना पक्राउ परे ।

‘म न्युयोर्क सहरमै जन्मिएँ र हुर्किएँ । बेन्जामिन नेतन्याहु यहाँ आउनु नै पूर्ण रूपमा अनादरपूर्ण कुरा हो,’ प्रदर्शनमा सहभागी जोसेले भने, ‘उनी युद्ध अपराधी हुन् र हामी त्यस्तो कुरा सहँदैनौँ ।’

‘ज्युइस भ्वाइस फर पिस’ (जेभीपी)का अनुसार बिहीबार बिहान संयुक्त राष्ट्रसंघ मुख्यालयनजिक भएको प्रदर्शनमा कलाकार, आयोजक तथा राजनीतिज्ञसहित ४०० भन्दा बढी मानिस सहभागी भएका थिए । नेतन्याहुले संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्नुअघि प्रदर्शनकारीहरूले अघाडीको एक भागमा धर्ना दिँदै सडक अवरुद्ध गरेका थिए ।

यो प्रदर्शन जेभीपी र ‘न्युयोर्क डेमोक्रेटिक सोसलिस्ट्स अफ अमेरिका’ (एनवाईसी–डीएसए)को नेतृत्वमा भएको थियो ।

‘प्यालेस्टिनियन युथ मुभमेन्ट’का सदस्य तथा जेभीपीको प्रदर्शनमा सहभागी अभियन्ता नास इस्साले अल जजिरासँग भने, ‘यो साता हामीले के देखिरहेका छौँ भने ट्रम्प र नेतन्याहुले संयुक्त राष्ट्रसंघ महासभालाई आफ्नो विश्वदृष्टिकोण प्रस्तुत गर्ने मञ्चका रूपमा प्रयोग गरिरहेका छन् । त्यो दृष्टिकोण बल प्रयोग र दण्डहीनतासहितका युद्ध अपराधबाट सञ्चालित संसारको हो ।’

प्रदर्शनकारीहरूले इजरायललाई अमेरिकाले दिँदै आएको सहयोगमा न्युयोर्कको आफ्नै भूमिकातर्फ पनि ध्यानाकर्षण गराउन खोजेका थिए । त्यसको एक दिनअघि एनवाईसी–डीएसएले जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै विमानस्थलमार्फत हुने सैन्य सामग्री तथा विस्फोटक पदार्थका ढुवानी तत्काल रोक्न र यसअघि इजरायलका लागि पठाइएका सैन्य सहायता सामग्रीबारे थप पारदर्शिता कायम गर्न माग गरेको थियो ।

१०३ जना पक्राउ

बिहीबार प्रहरीले प्रदर्शनकारीलाई सडक खाली गर्न आदेश दिएको थियो । त्यसपछि केही प्रदर्शनकारी पक्राउ परेका थिए । न्युयोर्क प्रहरी विभागले अव्यवस्थित गतिविधि गरेको आरोपमा १०३ जना पक्राउ परेका थिए र सबैलाई पछि रिहा गरिएको थियो ।

प्रदर्शन आयोजकहरूले पक्राउ पर्नेमा निर्वाचित जनप्रतिनिधि र राजनीतिक पदका उम्मेदवारसहित नौ जना रहेको बताएका छन् ।

पक्राउ पर्नेमा न्युयोर्कबाट प्रतिनिधि सभाको लागि डेमोक्रेटिक उम्मेदवार डारियालिजा अभिला चेभालियर पनि थिइन् । उनले विज्ञप्तिमार्फत भनिन्, ‘बेन्जामिन नेतन्याहु हेगमा हुनुपर्छ, न्युयोर्क सहरका सडकमा होइन र निश्चिय नै संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने स्थानमा त हुदैँ होइन ।’

जेभीपीकी आयोजक जेस फ्रान्केल क्यारेलले आफू यहुदी न्युयोर्कवासी भएको उल्लेख गर्दै अमेरिकी सरकारको रकम इजरायलको गाजामाथिको युद्धमा भन्दा अमेरिकाभित्रका समुदायमा खर्च हुनुपर्ने बताइन् ।

‘हामी हाम्रा करका पैसा बालबालिकामाथि बम खसाल्न खर्च भएको चाहँदैनौँ । हामी ती पैसा यहाँका विद्यालयमा खर्च भएको चाहन्छौँ,’ क्यारेलले भनिन्, ‘मेरा धेरै साथीहरू पक्राउ परेका छन् र हामी यहाँ बसिरहनेछौँ । नरसंहार अन्त्य नभएसम्म हामी संघर्ष गरिरहनेछौँ ।’

केही घण्टापछि नेतन्याहुको भ्रमणविरुद्ध अर्को प्रदर्शन भयो । प्यालेस्टिनियन युथ मुभमेन्ट र द पिपुल्स फोरमले आयोजना गरेको उक्त प्रदर्शनमा हजारौँ मानिस सहभागी हुँदै संयुक्त राष्ट्रसंघको मुख्यालयतर्फ मार्च गरेका थिए ।

प्यालेस्टिनियन युथ मुभमेन्टका आयोजक ताहेर दहलेहले अल जजिरासँग भने, ‘बेन्जामिन नेतन्याहुले यो सहरमा केवल १० घण्टा बिताउन किन चाहेका थिए भन्ने कुरा स्पष्ट छ । अन्तर्राष्ट्रिय कानुनबाट भागेका व्यक्ति वा युद्ध अपराधीका लागि यो सहर कहिल्यै सुरक्षित आश्रयस्थल बन्ने छैन ।’

प्रदर्शनकारीहरूले नेतन्याहुको संयुक्त राष्ट्रसंघमा उपस्थितिको विरोध गर्दै उनको भ्रमणविरुद्ध सडकमा आवाज उठाएका थिए । उता, इजरायली प्रधानमन्त्रीले महासभाको मञ्चबाट आफ्नो सरकारको कार्यको बचाउ गरेका थिए ।

गाजामा नरसंहारको आरोप नेतन्याहुद्वारा अस्वीकार

बिहीबार दिउँसो महासभालाई सम्बोधन गर्दै नेतन्याहुले गाजामा इजरायलले नरसंहार गरेको आरोप अस्वीकार गरे । उनले उक्त आरोपलाई ‘यस शताब्दीको सबैभन्दा ठूलो झूट’ भन्दै इजरायलले प्यालेस्टिनी नागरिकको सुरक्षाका लागि कदम चालेको दाबी गरे ।

नेतन्याहुले न्युयोर्क सहरका मेयर जोहरान ममदानीमाथि पनि आक्रमण गरे । उनले ममदानीलाई ‘यहुदीविरोधी’ भन्दै इजरायलका बारेमा झूट फैलाएको आरोप लगाए ।

ममदानी निर्वाचित भएपछि ‘धेरै यहुदीहरू अब न्युयोर्कमा सुरक्षित महसुस गर्दैनन्’ भन्ने नेतन्याहुको दाबी थियो ।

ममदानीले त्यसको जवाफ दिँदै नेतन्याहुले ‘प्यालेस्टिनीहरूको नरसंहारलाई सफा र जायज देखाउन आधारहीन झूट दोहोर्‍याइरहेको’ आरोप लगाए । उनले नेतन्याहुविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को पक्राउ पुर्जी अझै कायम रहेको पनि बताए ।

ममदानीले चुनावी अभियानका क्रममा नेतन्याहु न्युयोर्क आए उनलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएका थिए । तर पछि उनले आफूलाई त्यस्तो पक्राउ गर्ने कानुनी अधिकार नभएको स्वीकार गरेका छन् ।

बिहीबारका प्रदर्शनकारीका लागि नेतन्याहुको न्युयोर्क आगमन संयुक्त राष्ट्रसंघको सभाकक्षबाहिर समेत गाजाको विषयमा आफ्नो सन्देश फैलाउने अवसर बनेको थियो । उनीहरूले अन्तर्राष्ट्रिय नेताहरू र अमेरिकी सरकारलाई गाजाको विषयमा कदम चाल्न आह्वान गरे ।

प्यालेस्टिनियन युथ मुभमेन्टका आयोजक ताहेर दहलेहले भने, ‘संयुक्त राष्ट्रसंघले इजरायललाई पटक–पटक समयसीमा दिएको छ र अनगिन्ती अवसर दिएको छ । तर अझै पनि हामीले कुनै परिवर्तन देखेका छैनौँ । यस्तो सबैको संलग्नता अब अन्त्य हुनुपर्छ ।’

कमेन्टहरु