राहदानी लिन दूतावास धाउनुपर्ने बाध्यता घट्यो, इमिरेट्स पोस्टबाट घरमै डेलिभरी


दुबई, यूएई| २६ सेप्टेम्बर, २०२६
यूएईमा रहेका नेपाली सेवाग्राहीका लागि नेपाली महावाणिज्यदूतावास, दुबईले नयाँ राहदानी प्राप्त गर्ने प्रक्रिया थप सहज बनाएको छ। अब राहदानी तयार भएपछि सेवाग्राहीले चाहेमा इमिरेट्स पोस्टमार्फत आफ्नै ठेगानामा राहदानी प्राप्त गर्न सक्नेछन्।
महावाणिज्यदूतावासले शुक्रबार जारी गरेको सूचनाअनुसार राहदानी लिन दूतावाससम्म आउँदा लाग्ने समय, यात्रा तथा अन्य खर्चलाई ध्यानमा राख्दै हुलाकमार्फत डेलिभरीको व्यवस्था गरिएको हो। यस सुविधाका लागि राहदानी आवेदनको बायोमेट्रिक दिने क्रममा सम्बन्धित आवेदकले महावाणिज्यदूतावासमा डेलिभरी फारम भरेर छाड्नुपर्नेछ। राहदानी तयार भएपछि दूतावासले इमिरेट्स पोस्टमार्फत आवेदकले उपलब्ध गराएको ठेगानामा पठाउनेछ।

राहदानी डेलिभरीका लागि VAT सहित १५.७५ दिराम शुल्क लाग्नेछ। दूतावासले यो सेवा अनिवार्य नभई स्वैच्छिक रहेको स्पष्ट पारेको छ। नयाँ राहदानी लिन दूतावासमै उपस्थित हुनुपर्ने अवस्थाका कारण समय निकाल्न कठिन हुने सेवाग्राहीका लागि यो विकल्प उपयोगी हुने देखिएको छ।




















