देश

भन्सार छलेर ल्याएका २ जिप सामान बुटवलबाट बरामद

जगत ठाडा मगर
२०७८ कार्तिक १७ | मध्यान्ह ०२:०७ बजे

बुटवल । रुपन्देही प्रहरीले इन्डियाबाट भन्सार छलेर ल्याइएका करिब ५१ लाख रुपैयाँ भन्दा बढी मूल्यको सामान बुटवलबाट बरामद गरेको छ ।

प्रहरीले बुटवलको तिनाउ पुल नजिकैबाट भारतबाट अवैध रूपमा ल्याइएको कपडा, कस्मेटिक र जुत्ता लगायतका सामान बरामद गरेको हो । सो सामाग्री लु १ ज ४६३६ र लु १ ज ३७८७ नम्बरका दुईवटा जीपमा ल्याइएको थियो । रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाका अनुसार बरामद भएको सामानमा ६० हजार थान लिपगार्ड (ओठमा लगाउने कस्मेटिक) रहेको छ ।

यस्तै कुर्ता सुरुवाल सेट २ सय ३६ थान, चुन्नी ६ सय थान, बनारसी साडी ६७ थान र विभिन्न ब्राण्डका जुत्ता, टिसर्ट लगायतका सामानहरु बरामद गरेको डीएसपी थापाले बताए । पक्राउ परेको २ वटा जिप सहित बरामद भएको समान करीब साढे ५१ लाखको रहेको प्रहरीले मूल्यांकन गरेको छ । बरामद सामानसँगै जीप चालक सैनामैना-२ का ४० बर्षीय तुलसी थारु र सोही ठाउँका ४० बर्षिय मीनप्रसाद भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

बरामद भएको सामान र पक्राउ परेका चालक दुवै चालकलाई थप अनुसन्धान र कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रवक्ता थापाले बताए ।

कमेन्टहरु