प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिँदै

जगत ठाडा मगर
२०७८ कार्तिक १५ | मध्यान्ह १२:०७ बजे

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने घोषणा गरेका छन् ।
आज प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका थियो । तर बहुमत नपुग्ने भएपछि उनले त्यस अगाडि नै राजीनामा दिने निर्णय गरेका हुन् । गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले आज आफूले राजीनामा दिने बताएका छन् ।
९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा विश्वासको मत पाउनका लागि कम्तीमा ४७ जनाको समर्थन आवश्यक पर्छ । तर प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद रहेका छन् । सत्तापक्षमा सभामुखसहित जम्मा ४१ जना सांसद मात्रै रहेका छन् ।
कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीमा चयन गर्ने आइतबार नै निर्णय गरिसकेको छ ।






















