Opens in a new tab

घटना

ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा १० घर जलेर नष्ट

नवलपुर टुडे
२०८३ अशोज ८ | मध्यान्ह ०६:०६ बजे

ताप्लेजुङ, असोज ९ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारमा बिहीबार दिउँसो आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् । आगलागीबाट १७ घरपरिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार दिउँसो १: ३८ बजे सुरु भएको आगलागीमा लाक्पाचुङ शेर्पा र भीम लिम्बूका दुई–दुईवटा घर जलेर नष्ट भएका छन् ।

त्यस्तै चन्द्रप्रसाद पौडेल, यामबहादुर आङबुहाङ, घनश्याम खरेल, राजु शेर्पा, शुक्रवीर लिम्बू र राजेन्द्र पौडेलको एक–एकवटा घर जलेका छन् । आगलागीका कारण भीम लिम्बूको घरमा बस्दै आएका अनिता विक, सुमन लिम्बू, लाक्पा शेर्पा, आरती लिम्बू र श्याम चोङवाङको धनमालसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कमल बजगाईंले आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो । आगलागीको कारणसमेत खुल्न सकेको छैन । आगलागी नियन्त्रणमा स्थानीयवासी, सुरक्षाकर्मी तथा उपलब्ध साधनको प्रयोग गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाका सभापति इन्द्र गुरुङले आगलागीपीडित परिवारका लागि तत्काल राहतको व्यवस्था गरिने बताउनुभयो । उहाँका अनुसार पीडित परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राखेर राहत सामग्री उपलब्ध गराउने तयारी भइरहेको छ ।

कमेन्टहरु