सिद्धार्थ राजमार्गको पाल्पा सिद्धबाबा क्षेत्रमा राति सवारी आवागमन बन्द


पाल्पा। निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गअन्तर्गत दोभान–सिद्धबाबा खण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ ।
कार्यालयले जारी गरेको सूचनाअनुसार २०८३ असोज ८ देखि १२ गतेसम्म प्रत्येक दिन बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द रहनेछ ।
नेपाल मौसम विज्ञान विभागले आगामी केही दिनमा अति भारी वर्षा हुन सक्ने सम्भावना औँल्याएपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राखी यस्तो व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
प्रशासनले सम्भावित विपदबाट हुने जोखिम न्यूनीकरणका लागि सबै यात्रु तथा चालकलाई निर्धारित समयको पालना गरी सुरक्षित यात्रा गर्न आग्रह गरेको छ । आपतकालीन अवस्थामा नेपाल प्रहरी १००, ट्राफिक प्रहरी १०३, सशस्त्र प्रहरी बल १११४ तथा जिल्ला आपत्कालीन केन्द्र १२३४ मा सम्पर्क गर्न सकिनेछ ।






















